संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ सरकारले कोरोनाका कारण मृत्यु हुने कर्मचारीका परिवारलाई क्षतिपूर्ति स्वरूप पच्चीस लाख रूपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड १९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूको संक्रमणका कारण मृत्यु भएमा उनीहरुको परिवारलाई २५ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

Advertisement

त्यस्तै मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारद्वारा खटाई कोरोनाको पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सफाइकर्मी तथा कर्मचारीहरू कोरोना संक्रमित भई बिरामी भएमा प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा लागेको सम्पूर्ण खर्च व्यहोर्ने निर्णण गरेको छ ।

कोराना संक्रमित भइ होम आइसोलेशनमा बस्न सक्ने अवस्था नभइ घरबाहिर संस्थागत वा होटल आइसोलेशनमा बस्दा लागेको सम्पूर्ण खर्चसमेत प्रदेश सरकारले व्यहोर्ने छ । साथै कोभिड १९ को रोकथाम, नियन्त्रण, निदान तथा उपचार व्यवस्थापनका लागि प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्र विराटनगर, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर तथा प्रदेश सरकार मातहतका सम्पूर्ण अस्पतालको कोभिड वार्डमा प्रत्यक्ष रूपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई सुरुको तलब स्केलको पचास प्रतिशत जोखिम भत्ता प्रदान गर्ने भएको छ ।

प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्र, विराटनगरमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीका लागि होटल क्वारेन्टिन बस्नुपर्ने भएमा तोकिए बमोजिमको होटल क्वारेन्टिनको व्यवस्था गर्ने निर्णयसमेत मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!