- गोमा ढुंगाना/संगालोखबर

धनकुटा । दोस्रो चरणको कोरोना संक्रमण फैलन थालेपछि धनकुटाका रमेश कुमार शाक्यको दैनिकी फेरिएको छ । अन्य दिन घरायसी काममा व्यस्त हुँने धनकुटा–६ का शाक्य अहिले भीमनारायण चौकमा दिनभर खटिन्छन् । उनको ध्यान सडकमा हिड्ने पैदलयात्रीदेखि गाडीमा यात्रा गर्नेहरुले मास्क लगाएका छन्, कि छैनन भन्नेमा केन्द्रित हुन्छ ।

उनी मास्क नलगाउँनेको निगरानी मात्र गर्दैनन्, मास्क किनेर लगाउँन नसक्नेलाई निःशुल्क मास्क दिएर कोरोना नियन्त्रणको अभियानमा खटिदै आएका छन् । जिल्लामा कोरोना संक्रमण फैलदै गएकाले त्यसलाई नियन्त्रणका लागि मास्कको अनिवार्य प्रयोग गराउँन लागिपरेको शाक्य बताउँछन् । ‘सबैले सावधानी अपनाउँने हो भने, कोरोनालाई परास्त गर्न सकिन्छ,’ उनी भन्छन्, ‘सडकमा भेटिने सबैलाई सावधानी अपनाउँन लगाएर कोरोना भगाउँन सडकमा खटिएको हुँ । मास्क नलगाई हिड्नेलाई खबरदारी गरेर मास्क किन्न लगाउँछु, किन्न नसक्नेहरुलाई आफै किनेर पनि दिन्छु ।’

एक साता अघिबाट हरेक दिन उनी चौकमा खटिदै आएका छन् । मास्क नलगाई सवारी गुडाउँनेलाई उनले सिट्ठी बजाएर रोक्न लगाई मास्क लगाउँन सुझाव दिन्छन् । विपन्न बर्गका व्यक्तिले मास्क नलगाई हिडेको भेटेमा उनले आफै मास्क किनेर पनि दिने गरेका छन् । हालसम्म करिब ९ सय वटा मास्क वितरण गरिसकेको शाक्यले बताए । उनले आफै मास्क किनेर बाढ्ने गरेका छन् ।

शाक्यले चौकका विभिन्न ठाउँमा सचेतनामूलक प्लेकार्ड पनि राखेका छन् । ‘मास्कको सही तरिकाले प्रयोग गरी कोभिड–१९ बाट बचौं, तपाईको मास्क खोई ?, कृपया मास्कको प्रयोग गर्नुहोस्’ जस्ता सचेतनामूलक सन्देश लेखिएका प्लेकार्ड चौकका बिभिन्न ठाउँमा टागेर उनले सचेतना फैलाउँने प्रयास गरिरहेका छन् । शाक्यले नेपाल टेलिकममा ३३ बर्ष रोजगारी गरेर अवकास पाएका हुन् । आफ्नो फुर्सदको समय सामाजिक काममा खट्ने इच्छा भएकाले कोरोना नियन्त्रणको अभियानमा एक्लै भएपनि जुटेको शाक्य बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!