- संगालोखबर सम्वाददाता

विराटनगर । कोरोना संक्रमण रोकथामका लागि मोरङको विराटनगरसहित चार पालिकामा आइतवारदेखि ७ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकको निर्णय बमोजिम विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडामा निषेधाज्ञा जारी गरिएको हो ।

Advertisement

निषेधाज्ञाको पहिलो दिन आइतबार विराटनगरको सडकमा मानवीय चहलपहल घटेको देखियो । नगरक्षेत्रमा अत्यावश्यक बाहेकका सबै पसल, व्यवसायहरु ठप्प भए । कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको भएपनि सडकमा देखिनेहरुले स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्राई गरेको पाइयो । बजारमा हिड्ने कतिपय विनामास्क भेटिए भने निषेधाज्ञा पालना गराउँन खटिने सुरक्षाकर्मीनै मास्क चिउडोमा लगाएर डिउटीमा खटिएको पनि पाइयो ।

निषेधाज्ञा कडाइका साथ लागु गर्न विराटनगरभित्र नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीलाई बाक्लो रूपमा तैनाथ गरिएको छ । लामो तथा छोटो दुरीका सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ । सडकमा अनुमतिप्राप्त सवारीसाधन, एम्बुलेन्स र औषधी पसलहरुलाई निर्वाध रुपमा सञ्चालन गर्न दिइएको छ भने सर्वसाधारणको अनावश्यक हिँडडुलमा प्रतिबन्ध लगाइएको छ । खाद्यान्न, इन्धन, खाना पकाउने ग्यास, दुध, डेरी र फलफुल तथा तरकारी पसलहरु बिहान ५ बजेदेखि १० बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिइएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

कोरोना संक्रमणको चेन ब्रेक्र गर्ने उद्देश्यका साथ जारी गरिएको निषेधाज्ञालाई पालना गराउन विराटनगरमा करिब ८ सयको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सडकमा चेक प्वाईन्ट, पिकेट, मोबाईल गस्ती, स्ट्राइकिङ, रिजर्भ र सादा पोशाकका सुरक्षाकर्मीहरुलाई फरक–फरक भूमिकामा परिचालन गरिएको प्रहरी उपरीक्षक खडकाले बताए । मोरङ प्रहरीले निषेधाज्ञा उल्लङ्घन गर्नेलाई तत्कालै नियन्त्रणमा लिई कारबाही गर्न निर्देशन पनि दिएको छ ।

तस्वीर : गोमा ढुंगाना/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!