- संगालोखबर सम्वाददाता

धनकुटा । करेन्ट लागेर मृत्यु भएका व्यक्तिका परिवारलाई धनकुटाको महालक्ष्मी नगरपालिकाले राहत रकम प्रदान गरेको छ । महालक्ष्मी नगरपालिका–४ चानुवाका मृतक चन्द्रबहादुर कार्कीको परिवारलाई नगरपालिकाको तर्फबाट १० हजार राहत रकम प्रदान गरिएको हो ।

Advertisement

नगर प्रमुख पर्शुराम नेपालले मृतकको घरमै पुगेर राहत रकम हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै नगर प्रमुख नेपालले तत्कालका लागि राहत स्वरुप नगरपालिकाले थोह्रै भएपनि सहयोग गरेको बताए । उनले मृतकको परिवारलाई क्षतिपूर्ति दिलाउँन पहल भइरहेको जानकारी पनि गराए । मृतकको परिवारलाई सान्तवना दिन प्रदेश सांसद इन्द्रमणी पराजुली, नगर प्रमुख नेपाल र उपप्रमुख मञ्जु अधिकारीसहितको टोली घरमै पुगेको थियो ।

गत बैशाख ४ गते विद्युत लाइनमा हाइभोल्टेज प्रवाह हुँदा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर ५२ बर्षीय कार्कीको मृत्यु भएको थियो । गाउँभर हाइभोल्टेज प्रवाह हुँदा १५ जना घाइते भएका थिए । घटनापछि महालक्ष्मी नगरपालिकाले गाउँमा एम्बुलेन्स पठाएर घाइतेहरुलाई अस्पताल पुर्याउँने व्यवस्था मिलाएको थियो । नगर प्रमुख नेपालसहितको टोलीले घटना लगत्तै गाउँमा पुगेर स्थलगत अनुगमन गरी पुनः यस्तो घटना दोहोरिन नदिन विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको थियो ।

यता, विद्युत प्राधिकरणले हावाहुरी, असिना र चट्याङका कारण विद्युतीय संरचनामा क्षति पुगेर हाइभोल्टेज प्रवाह हुँदा घटना भएको भन्दै मृतकको परिवारलाई नियमअनुसार क्षतिपूर्ति र घाइतेको उपचार खर्च व्यहोर्ने जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!