
धनकुटा । प्रदेश नं.१ मा ट्राफिक प्रहरीले ‘तपाईको मास्क खोई ?’ अभियान सुरु गरेको छ । कोरोना संक्रमण बढ्दै गएका बेला १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको अगुवाइमा प्रदेशभर यस्तो अभियान चलाइएको हो ।
प्रदेश १ का १४ वटै जिल्लामा मंगलबार बिहान १० बजेबाट एकैसाथ यो अभियान सुरु गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । ‘कोरोना रोकथाममा सघाउ पुर्याउँन तपाइको मास्क खोइ अभियान सञ्चालन गरेका हौं,’ डिएसपी तिम्सिनाले भने,‘बिहान १० बजेबाट प्रदेशभर एकैसाथ अभियान सुरु गरेका छौं ।’
अभियानमा ‘तपाइको मास्क खोई ?’ लेखिएको प्लेकार्डसहित ट्राफिक प्रहरीहरु सडकमा खटिएका छन् । ट्राफिक प्रहरीसँगै नेपाल प्रहरी, बिभिन्न संघ–संस्थाका प्रतिनिधि, नागरिक समाज र सरोकारवालाहरुले पनि यो अभियानमा साथ दिएका छन् । उनीहरु पनि ट्राफिक प्रहरीसँगै प्लेकार्ड वोकेर सचेतनामूलक अभियानमा खटिएका छन् ।

हरेक जिल्लामा उनीहरुले सडकमा हिड्ने पैदलयात्री, सवारी साधनका चालक, कर्मचारी, यात्रु लगायतलाई मास्क अनिवार्य लगाउँन आग्रह गर्ने र मास्क नहुँनेलाई वितरण पनि गरिरहेका छन् । प्रदेश १ मा ट्राफिक प्रहरीका ९२ वटा यूनिट छन् । ती सबै यूनिटबाट यो अभियान सञ्चालन गरिएको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
अभियानको पहिलो दिन मास्क नलगाउँनेलाई मास्क प्रदान गरिएको भएपनि आगामी दिन भने मास्क वितरण नगरी सचेतनामूलक अभियान मात्र चलाइने बताइएको छ । ‘पहिलो दिन हामीले नहुँनेलाई मास्क पनि दिएका छौं । तर, अब मास्क वितरण गर्दैनौ । मास्क खोई भनेर सोध्ने मात्र नभई अनिवार्य लगाउँन लगाउँछौ,’ डिएसपी तिम्सिनाले भने ।

कोरोना संक्रमण तीव्र रुपमा फैलदै गएको भएपनि हेलचेक्राई गरेर मास्क नलगाउँने गरेको पाइएपछि ट्राफिक प्रहरीले यस्तो अभियान थालेको हो । अभियानका क्रममा पनि कतिपय व्यक्तिले सावधानी नअपनाई हेलचेक्राई गर्ने गरेको पाइएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले बताए । ‘कतिपय व्यक्तिले मास्क प्रयोगमा हेलचेक्राई गर्ने गरेको भेटियो,’ अभियानमा खटिएका ट्राफिक प्रहरी खड्काले भने,‘कसैले मास्क नै नलगाई बजारमा हिड्ने, कसैले मास्क मुखमा नभइ चिउडोमा झुण्ड्यिाउँने र कतिपयले मास्क गोजीमा बोकेर हिड्ने गरेको भेटियो ।’
हेलचेक्राई गर्नेहरुलाई सचेत गराएर आफ्ना लागि मात्र नभई अरुका लागि पनि अनिवार्य मास्क लगाएर हिड्न अभियानमा खटिनेहरुले आग्रह गर्ने गरेका छन् ।
धनकुटामा १५ सयलाई मास्क वितरण
‘तपाईको मास्क खोई ?’ अभियान सुरुवातका क्रममा आज धनकुटामा करिब १ हजार ५ सय जनालाई मास्क वितरण गरिएको छ । धनकुटा सदरमुकाम, सिधुवा, हिले, मुलघाट, भेडेटार लगायत क्षेत्रमा ट्राफिक प्रहरीले कोरोना सचेतनासहित यो अभियान सञ्चालन गरेको हो ।

अभियानका क्रममा जिल्लाभर करिब १ हजार ५ सय मास्क वितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । जिल्ला प्रहरी प्रमुख गोविन्द अधिकारी, ट्राफिक प्रहरी प्रमुख खड्कासहितको टोलीले धनकुटाको जिरोपइन्ट, बसपार्क, मदनचौक, हुलाकटोल, बीचबजार, भीमनारायण चौक लगायत क्षेत्रमा अभियान सञ्चालन गरेर मास्क वितरण गरेका छन् ।
यता, सिधुवा बजारमा पनि ट्राफिक प्रहरीसहित स्थानीयबासी र विद्यार्थीहरुसमेत अभियानमा सहभागि भएका थिए ।






















