
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकाय अन्तर्गत स्नातक दोस्रो सेमिस्टरको भौतिकशास्त्र परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा १० जना पक्राउ परेका छन् । प्रश्नपत्र आउट गरेको आरोपमा परीक्षा नियन्त्रण कार्यालयका विज्ञान तथा प्रविधि शाखाका कर्मचारी र विद्यार्थीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पुर्वाञ्चल विश्वविद्यालयका कर्मचारी विराटनगर–८ का ४४ बर्षीय कोमल प्रसाद गौतम, विद्यार्थीहरू संखुवासभाको मादी नगरपालिका–६ का ३५ बर्षीय गोपाल कार्की, रुपेन्देहीको तिलोचन नगरपालिका–१२ का ३० बर्षीय विजय पोखरेल, गोरखाको भीमसेन थापा गाउँपालिका–१ का ३२ बर्षीय मिनप्रसाद भट्ट, गण्डागी गाउँपालिका–३ का ३१ बर्षीय भरत पन्त, सोही गाउँपालिकाका २६ बर्षीय विकास खड्का छन् । त्यस्तै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ का २९ बर्षीय नानिपथ मण्डल, सप्तरी वोदेबरसाई नगरपालिका–७ का २९ बर्षीय जीवन कुमार यादव र सप्तरीको अग्नीसायर कृष्णसवरण गाउँपालिका–५ घर भई भक्तपुर लोकन्थली बस्दै आएका २६ बर्षीय महेश यादव पक्राउ परेका छन् ।
पक्राउ परेकामध्ये संखुवासभाको मादी नगरपालिका–६ का ३५ बर्षीय गोपाल कार्की विद्यार्थी नेता हुन् । उनले पुर्वाञ्चल विश्वविद्यालयका कर्मचारी गौतमलाई लाखौं रुपैयाँ दिने मौखिक सम्झौता गरि प्रश्नपत्र आउट गरेको मोरङ प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको मोरङ प्रहरीले जनाएको छ । कार्कीले पनि पक्राउ परेका इन्जिनियरिङ तहमा अध्ययरत विद्यार्थी विजय पोखरेलसँग ८० हजार रुपैयाँ लिएपछि आउट भएको प्रश्नपत्र बिक्री गरेका थिए । त्यसपछि विजयले अन्य पक्राउ परेका विद्यार्थीहरूसँग १० देखि २० हजार रुपैयाँ लिएर ईलेक्ट्रोनिक माध्यमबाट प्रश्नपत्र बेचेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।
उनीहरूले थप कति जनासँग कति रकम असुल गरे त्यसबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये ८ जना इन्जिनियरिङ संकाय स्नातक दोस्रो सेमिस्टरका विद्यार्थी हुन् । कार्की विद्यार्थी नेता र गौतम भने विश्वविद्यालयका कर्मचारी हुन् ।












