
मोरङ । मोरङको केराबारी गाउँपालिकामा शिकार खेल्ने क्रममा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोली लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा केरावारी–३ का ३२ बर्षीय हस्तवहादुर राई छन् ।
बाँसघारी खोप सरकारी राष्ट्रिय बन जंगलमा घटना भएको हो । स्थानीय ३७ बर्षीय गजेन्द्र राई र २६ बर्षीय रुबिन लिम्बुसँग हस्तबहादुर सिकार खेल्न जंगल गएका थिए । सोही क्रममा गजेन्द्र राईले प्रहार गरेको गोलीले लागेर हस्तबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि गजेन्द्र र रुबिनले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले भरुवा बन्दुकसहित गजेन्द्र र रुबिनलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवै जनाविरुद्ध ज्यान सम्वन्धी कसूर र हातहतियार खरखजाना कसुरमा मुद्दा दायर गरी घटनाको विषयमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।












