- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका–६ सरस्वती चौकस्थित महालक्ष्मी होटलको कोठामा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । १० दिन अघिदेखि सोही होटलको १०३ नम्बर कोठामा बस्दै आएकी भोजपुरको तिवारीभञ्ज्याङ्ग–१ की ४० बर्षीया कमला मगरको शव कोठामै झुण्डिएको अवस्थामा फेला परेको हो ।

होटलको कोठाको झ्यालमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा मगरको शव फेला परेको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले जानकारी दिए । कोठाभित्रबाट चुकुल लगाएको अवस्थामा शव फेला परेको बताइएको छ । प्रहरी पुग्नुअघि नै महिलाका आफन्तले ढोका तोडेर भित्र पसेका थिए ।

प्रहरीका अनुसार शरिरका केही अंगमा प्यारालाइसिसको समस्या भएकी उनी थेरापी गराउँनका लागि भन्दै होटलमा कोठा लिएर बसेकी थिइन् । सुरुमा उनी आफन्त महिलासँग बस्दै आएको भएपनि केही दिन अघि उनका श्रीमान पनि होटल मै आएका थिए । वैदेशिक रोजगारीमा गएका श्रीमान केही दिन अघिमात्र नेपाल आएका हुन् । श्रीमान आएपछि ती महिला, श्रीमान र आफन्त महिला सोही होटलमा बस्दै आएका थिए । शनिवार साँझ करिब ८ बजे आफन्त महिला र श्रीमान खाना खान गएका बेला घटना भएको बताइएको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!