- पत्रपत्रिका खबर

ताप्लेजुङ । २०७७ सालको वैशाख महिना। कोरोना संक्रमणका कारण लकडाउन गरिएपछि बजार पसल ठप्प थिए। यातायातका साधन चलेका थिएनन्। मानिसको चहलपहल हटेपछि फुङलिङ बजारका धेरै व्यवसायी, विद्यार्थी गाउँ फर्किएका थिए।

Advertisement

१८ गते बेलुका एक्कासि बजारको पुरानो बैंक लाइनमा आगो लागेको हल्ला फैलियो। नगरपालिकाको दमकल, सुरक्षा निकाय र स्थानीयले आगो निभाउन प्रयास गरे। तर, ८ घरका ११ पसल जलेपछि मात्रै आगो नियन्त्रणमा आयो। जलेकामध्ये धेरै पसल सञ्चालक लकडाउनका कारण गाउँ गएका थिए। वर्षको सुरुआतमा कोरोना कहरका बीचमा सुरु भएको आगलागीका घटना अन्त्यसम्म नै रोकिएनन्। जेठ, असार, साउन र असोजमा एक–एक घर जल्दा ९ लाख ३ हजारबराबरको क्षति भयो। कात्तिकमा २ घर जले। ६९ लाख १० हजार मूल्यबराबरको क्षति भयो। ३ जना घाइते भए। मंसिर र पुसमा ३–३ घर जल्दा १८ लाख १० हजारको क्षति भएको प्रहरीको तथ्यांक छ।

पुसको पहिलो हप्तादेखि प्रसिद्ध तीर्थस्थल पाथीभराको वनमा लागेको डढेलो महिनादिनपछि मात्रै पूर्ण नियन्त्रणमा आएको थियो। डढेलोबाट पाथीभराको मन्दिर बचाउन सिम्रिक एयरको हेलिकप्टरसमेत प्रयोग गरिएको थियो। नेपालमै पहिलो पटक डढेलो निभाउन हेलिकप्टरबाट पानी खन्याइएको थियो।

पुस १३ गते हेलिकप्टरबाट पानी खन्याएपछि मन्दिर क्षेत्र सुरक्षित भयो। वनको आगो निभाउन त्यसपछि पनि सुरक्षा निकाय, मन्दिरका कर्मचारी र स्थानीय महिनैभरि खटिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले बताउँछन्। ‘मन्दिर र आसपासका धर्मशाला बचाउन अन्तिम विकल्पको रूपमा हेलिकप्टरको प्रयोग गरेका थियौंं,’ उनी भन्छन्, ‘हेलिकप्टरले पाँच पटक पानी हालेपछि आगो मन्दिरसम्म पुग्न पाएन। मैले थाहा पाएयता पाथीभराको वनमा पहिलोपटक आगो लागेको हो।’

माघ यता भने आगलागी र क्षतिका घटना झन् बढे। माघमा ६ आगलागीका घटनामा सात चौपाया÷पंक्षीको मृत्यु हुनाका साथै पाँच घर गोठ जलेका छन्। चार वटा सामुदायिक वन सखाप भएका छन्। १ करोड ४९ लाख ५० हजार मूल्यबराबरको क्षति भएको छ। माघ २० गते सिरिजंघा गाउँपालिका–१ सिनाममा ५ घर जले। दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीका घर जल्दा ५६ लाख ७८ हजारबराबरको क्षति थियो। बच्चाले भान्सामा आगो फुक्ने क्रममा आगो सल्किएको थियो।

फागुन १८ गते बिहान मेरिङ्देन गाउँपालिका–३ को दोभान बजारमा आगलागी भयो। ४० करोडको क्षति, ५० घरका ६३ परिवार विस्थापित बने। गाउँपालिकाले निकालेको तथ्यांकमा १ करोड ६० लाख रुपैयाँ नगदै जलेको उल्लेख छ। पीडित परिवार अझै पनि लयमा फर्कन सकेका छैनन्। कोही टेन्टमा त कोही आफन्त र छिमेकीकोमा आश्रय लिइरहेका छन्। केहीले अस्थायी टहरा बनाएर पसल सुरु गरेका छन्।

धेरैले पसल व्यवसाय सुरु गर्न नसकेको वडाध्यक्ष गणेश भण्डारी बताउँछन्। दोभानबाहेक फागुनमा अन्य ६ स्थानमा आगलागी भएको छ। २०७७ को ठूलो आगलागी फागुनमा भए पनि धेरै ठाउँमा क्षति भने चैत महिनामा भएको छ। चैतमा विभिन्न १७ स्थानमा आगो लागेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। जसमा १० घर र अन्य सामुदायिक वन छन्। ७ वटा सामुदायिक वनमा ठूलो आगो लाग्यो।

१५ बढी वनमा ससाना डढेलो महिनैभरि लागिरहेको सामुदायिक वन उपभोक्त महासंघका जिल्ला अध्यक्ष सुरज ओझा बताउँछन्। पछिल्लो एक हप्तामा सदरमुकाम फुङलिङको नर्सरी, मेवाखा, नाङ्खोल्याङ जंगलमा डढेलो लागिरहेको छ। वर्षको अन्तिम दिन मंगलबार फुङलिङस्थित सानो पाथीभरा छेउको जंगलमा डढेलो लागेको छ। जिल्लामा पछिल्लो चार वर्षमा १ सय १४ स्थानमा आगलागी भएको प्रहरीको तथ्यांक छ। जसले २ सय ४ वटा घरमा क्षति पु¥याएको छ।

वर्षभरि नै आगलागीका घटना भए पनि आगो लाग्नुको खास कारण र लगाउने व्यक्तिको पहिचान हुन सकेको छैन। आगो कसरी सुरु भयो भन्ने अनुसन्धान गर्न कठिन रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मोहन पोख्रेल बताउँछन्। ‘घरमा आगो लाग्दा केटाकेटीले सलाई लाइटर चलाउँदा, विद्युत् सर्ट हुँदा, अभिभावक नभएको बेला भन्ने कुरा बढी आउँछ, उनले भने, ‘जंगलमा कसरी लाग्यो भन्ने चाहिँ अनुसन्धानकै विषय बनेको छ।’ – सीताराम गुरागाईंले लेखेको यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!