
सुनसरी । धनकुटाका दुई युवा गाँजासहित गएराती धरानबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका–६ का २० बर्षीय निगम राई र १९ बर्षीय शुक्रराज राई छन् ।
धरान उपमहानगरपालिका–३ शान्तिपथबाट राती करिब २ बजे उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । को १३ प ६७८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुले बोकेको झोला चेकजाँच गर्दा गाँजा बरामद भएकाले दुवै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए । ‘गाँजा बोकेर इटहरीतर्फ जाँदै गरेका रहेछन्,’ डिएसपी बस्नेतले संगालोखबरसँग भने,‘चेकजाँच गर्दा गाँजा बरामद भएपछि नियन्त्रणमा लिएका छौं ।’

प्रहरीका अनुसार उनीहरुले बोकेको झोलाबाट २ किलो गाँजा बरामद भएको छ । गाँजा बरामद भएपछि दुवै जनालाई पक्राउ गरेर मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध प्रहरीले अदालतमा लागुऔषध मुद्दा दर्ता गरेर कारबाही प्रकृया अघि बढाएको छ ।















