- संगालोखबर सम्वाददाता

सुनसरी । सवारी दुर्घटनामा नक्कली चालक उपस्थित गराई सक्कली चालक भगाएकाे आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१२ का जीवन खनाल र ३३ बर्षीय नेत्र प्रसाद पाठक छन् ।

Advertisement

कोशी यातायात प्रा.लि. इटहरीकाे संचालक समितिमासमेत रहेका खनाल र पाठकले नक्कली चालक बनाएर सक्कली चालकलाई भगाउने गरेको आरोप छ । चैत्र १२ गते सुनसरीको कोशी–८ तिनकुने राजमार्गमा ना ४ ख ५२९१ नम्बरको बसले मे ६ प ८००० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक ईलाम–८ तिल्केनीका मेख बहादुर राई घाईते भएका थिए । बिराट नर्सिङहोममा उपचारका क्रममा चैत्र १३ गते उनको मृत्यु भएको थियो । दुर्घटनापश्चात चालक फरार रहेका थिए । प्रहरीले उनको खोजी गरिरहेको थियो । कोशी यातायात प्रा.ली. ईटहरीका संचालक समितिका सदस्यद्धय जीवन र नेत्र प्रसादले सिरहाको लाहान–८ घर भई विराटनगर बस्दै आएका अमित कुमार गुप्तालाई बसको चालक भनि उपस्थित गराएका थिए ।

यता जिल्ला प्रहरी कार्यालय सुनसरीबाट दुर्घटनाका विषयमा अनुसन्धान गर्ने क्रममा गुप्ताले दुर्घटना भएको बसको चालक आफू नभएको र ५० हजार रुपैयाँ दिने साथै अदालतबाट छुटकारासमेत दिलाउने भनि आर्थिक प्रलोभनमा पारेर उपस्थित गराएको बताएपछि घटनाको रहस्य खुलेको हो । यसरी झुक्याएर नक्कली चालक उपस्थित गराएकाले प्रहरीले उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पीडित पक्षलाई क्रिया खर्च, क्षतिपुर्ति दिलाउनु पर्ने संस्थाको जिम्मेवार कर्मचारी तथा बसका संचालक राजु थापा दायित्वबाट पछि हटेर घटनालाई ढाकछोप गरी वास्तविक चालकलाई जोगाउन खोजेको हुँदा संघका प्रतिनिधीहरु र नक्कली चालकलाई समेत सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कानुनी कारबाही प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!