उदयपुर । ६ दशकदेखि बसोबास गर्दै आएको जग्गा पत्तै नपाई अर्कैले दर्ता गरेपछि बेलका नगरपालिका–२ करहिया क्षेत्रका ३२ परिवार बिचल्लीमा परेका छन्। २०१६ सालदेखि उनीहरूले आफू बसेको पर्ती ऐलानी जग्गा फरक व्यक्तिले दर्ता गरेको थाहा नपाउँदा बिचल्लीमा परेका हुन्।
तत्कालीन अवस्थामा सप्तकोसीले पश्चिमी क्षेत्र कटान गरेपछि उनीहरू त्यहाँबाट विस्थापित भई करहिया को खाली पर्ती ऐलानी जग्गामा बसोबास गर्दै आएका थिए। ३२ परिवार थारू र दलित समुदायका रहेका छन्। सुरुमा १०/१५ परिवार बस्दै आएकोमा २०२५ सालमा नदीले थप कटान गरेपछि थप परिवार सुरक्षित आश्रयका लागि सो ठाउँमा आएको वडाध्यक्ष मिश्रीलाल चौधरीले बताए।
सोझासाझा जनतालाई थाहै नदिई भूमाफियाले गाउँ ब्लकको जग्गा आफ्नो नाममा दर्ता गराएको उनले बताए। उनले भने, ‘जग्गा दर्ता गर्ने निकाय र दर्ता गराउनेको मिलमतो र गलत प्रवृतिका कारण जनताले दुःख पाए। ‘तीन पुस्तादेखि बस्दै आएका परिवार छन्,’ वडाध्यक्ष चौधरीले भने, ‘भोगचलनका आधारमा पनि उनीहरूको हुने देखिन्छ, त्यसैले दर्ता गर्नेले मिलेर अघि बढ्नुको विकल्प छैन।’
दर्ता गर्ने निकाय र दर्ता गराइमाग्ने व्यक्तिको गलत मनसाय र प्रवृतिका कारण गरिब परिवारले दुःख पाएको उनको भनाइ छ। आर्थिक प्रलोभनमा परी तालुक निकायबाट गरिएको यस्तो निर्णय स्वीकार गर्न नसकिने उनको भनाइ छ। उनले कि दर्ता प्रक्रिया खारेज कि पीडित परिवारसँगको वार्ता, छलफलको माध्यमबाट न्याय निरुपण गरे मात्र समस्याको समाधान हुने बताए।
आफूले भोगचलन गर्दै आएको जग्गा पत्तै नपाई अर्काले दर्ता गरी बस्ती खाली गर्न थालेपछि पीडित परिवारले करहिया जग्गा विवाद संघर्ष समिति गठन गरी आन्दोलनमा होमिएका छन्। संघर्ष समितिका संयोजक भुवनेश्वर पासवानले तीन पुस्तादेखि बस्दै आएको जग्गा भूमाफियाले हडपेका कारण आफूहरू आन्दोलनमा होमिनु परेको बताए।
‘२०२८ मा नापी हुँदासमेत कित्ता नम्बर १ खाली जग्गा पर्ती ऐलानी हो भनेको हामीले सुनेका थियौँ,’ उनले भने, ‘त्यसबेला हामीलाई जग्गा नापजाँच गर्नुपर्छ भन्ने हेक्का भएन, बसेपछि हाम्रै होला भन्ने ठानेर पछि भूमाफियाले एक्कासी जग्गा दर्ता गरेको भन्ने थाहा पायौँ।’ तत्कालीन उदयपुरको सुन्दरपुर ठानाका प्रहरी सहायक निरीक्षक राजविराज–४ का रामकृष्ण उपाध्यायले स्थानीय पटवारी भादु चौधरीसँग मित लगाई जग्गा आफ्नो नाममा गरेको उनले बताए।
उपाध्याय त्यसबेला सोही क्षेत्रका प्रहरी कमाण्डर रहेको उनले बताए। स्थानीय पटवारी भादु चौधरीसँग मित लगाई प्रधानपञ्च देवचरण चौधरी र जमिनदार पवननारायण चौधरीको मिलेमतोमा उपाध्ययले आफ्नो नाममा जग्गा कायम गरी २०३१ मा श्रीमती गोमादेवी उपाध्यायको नाममा छुट दर्ता पुनः लालपुर्जा बनाएको उनीहरूको दाबी छ। ‘पुरानो रेकर्डअनुसार त्यस क्षेत्रमा तीन बिघा १४ कट्ठा साढे चार धुर जग्गा पर्ती ऐलानी रहेको देखिन्छ,’ उनले भने, ‘त्यसमध्ये साबिक १ नम्बर कित्ताको दुई बिघा तीन कट्ठा तीन धुर जग्गा २०२८ सालमा भूमाफियाले नापी गरेको श्रेस्तामा देखिन्छ।’
दर्ता भएकाबाहेकको जग्गापछि २०३१ सालमा साढे चार कट्ठा र साढे दुई कट्ठा उपाध्यायले श्रीमतीको नाममा पुनः दर्ता गरेको पुलकितले बताए। जग्गा दर्ता गरेसँगै आफूनिकटका व्यक्तिलाई बोलाइ खसी, बोका लिँदै केहि जग्गा पास गरिदिएको स्थानीय अमित पासवानले बताए।
छलकपट गरी दर्ता गरिएको विषयमा स्थानीयको विरोध जनाएपछि गोमादेवीले २०४२ मा भारतको आसामबाट आएका डम्बरबहादुर कठैत, छोरा परशुराम, श्रीमती टीकादेवी र भाइ प्रेमबहादुर कठैतको नाममा रजिस्टे«सन पास गरिदिएको उनले बताए। समितिका सदस्य पुलकित चौधरीले भूमाफियाले पवननारायण चौधरीको नाममा किर्ते कागज गरी जग्गा दर्ता गरेको बताए।- भरत खड्काले लेखेको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।