विराटनगर । नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिले विराटनगरमा आफ्नो भवन निर्माण गरेको छ । विराटनगर महानगरपालिका–५ गणेश चौकमा महासंघको कार्यालय भवन निर्माण गरिएको हो ।
मुख्यमन्त्री शेरधन राईले आज एक कार्यक्रमकाबीच महासंघको नवनिर्मित भवन उद्घाटन गरेका छन् । भवन उद्घाटन गर्दै मुख्यमन्त्री राईले मूलुक संघीयतामा गएपछि भौतिक संरचना निर्माणले गति पाएको बताए । विराटनगर महानगरपालिकाले उपलब्ध गराएको जग्गामा प्रदेश सरकारको बजेटबाट महासंघको दुई तले पक्की भवन निर्माण गरिएको हो ।
मुख्यमन्त्री राईले संघीय अभ्यास सुरु भएपछि महासंघको भवन जस्तै धेरै भौतिक संरचनाहरु निर्माण गरिएको बताए । फरक प्रशंगमा मुख्यमन्त्री राईले मूलुकलाई सही दिसा निर्देश गरेर विकासको गतिमा अघि बढाउँन सञ्चारजगतको महत्वपूर्ण भूमिका हुँने उल्लेख गरे ।
कार्यक्रममा कानूनमन्त्री हिक्मतकुमार कार्की, नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य, प्रादेशिक सञ्चार प्रतिष्ठानका निर्देशक यज्ञ शर्मा, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली लगायतले समाजलाई सही बाटोमा अघि बढाउँन सञ्चारजगतको महत्वपूर्ण भूमिका हुँने बताए ।
यसैबीच, सोही कार्यक्रममा ‘मेरो पत्रकारिता’ नामक पुस्तक बिमोचन गरिएको छ । मुख्यमन्त्री राई, कानूनमन्त्री कार्की, महासंघ अध्यक्ष आचार्य लगायतले पुस्तक विमोचन गरेका हुन् । पत्रकार महासंघ प्रदेश समितिले ३४ जना अग्रज पत्रकारको अनुभव समेटेर पुस्तक प्रकाशन गरेको हो । पुस्तकमा आफ्नो अनुभव लेख्ने पत्रकारहरूलाई कार्यक्रममा महासंघले सम्मान गरेको छ ।
थप तस्वीरहरु हेर्नुहोस्…
तस्वीर: रबिन कटेल/संगालोखबर