विराटनगर । विराटनगर महानगरपालिका–३ आयल निगम नजिक घर भएका ‘कान्छा’ भनिने नितेशकुमार राई मृत भेटिएका छन् । विराटनगर–१९ मा निर्माणाधिन अन्तर्राष्ट्रिय रंगशाला नजिक पिपलको रुखमुनी आज बिहान ३५ बर्षीय राईको शव फेला परेको हो ।
घरभन्दा करिब दुई किलोमिटर पूर्वमा मृत भेटिएका राईको घाँटीमा नाइलनको डोरीले बेरिएको, बंगरा भाँचिएको र जिउमा निलडाम देखिएको छ । घटनाको प्रकृति हेर्दा हत्या भएको अनुमान गरिएको आफन्त बताउँछन् । उनीहरुले घटनाको बिषयमा गहिराईमा पुगेर अनुसन्धान गर्न माग गरेका छन् । काम छ भन्दै हिजो बिहान घरबाट निस्किएका राई घर फर्किएनन् । रुखमुनी बिहान शव भेटिएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।
मृतकको शवलाई पोष्टमार्टमका लागि कोशी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । नितेशको हत्या भएको दावी गरेका आफन्तले हत्यारा पत्ता लगाएर कारबाही नभएसम्म शव जिम्मा नलिने अडान राखेका छन् ।