विराटनगर । मोरङको बेलबारी नगरपालिकाले महिलाहरुलाई उद्यमी बनाउने उदेश्यले ढाका बुन्ने तालिम दिन थालेको छ । वडा नम्बर ७ र ८ का ३० जनाभन्दा बढी महिलाहरुलाई तालिम दिन थालेको हो ।
उत्पादनसँग जोडिएर महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न सीपमुलक तालिमहरु दिने गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । पाथीभरा सीप विकास केन्द्रको प्राविधिक सहयोगमा तीन महिनासम्म तालिम सञ्चालन गरिने जनाइएको छ । केही गर्छौ भन्नेहरुलाई प्राविधिक, आर्थिक तथा विभिन्न उपकरणहरु दिने गरेको र उद्यमीले उत्पादन गरेका वस्तुहरुको बजारीकरणसमेत नगरपालिकाले गरिदिने नगर प्रमुख सुवेदीको भनाई छ ।
नगरपालिकाले दिएको तालिम लिएर धेरै महिलाहरु उद्यमी बनिरहेका छन् । वडा नम्बर ३ मा मात्रै ५० भन्दा बढी महिलाहरु ढाका कपडा बुनेर राम्रो आम्दानि गरिरहेका छन् ।