विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई रक्तअल्पताको समस्याबाट बचाउन आइरन चक्की (फोलिक एसिड) खुवाउन थालिएको छ । महानगरले गत माघ १६ गतेदेखि १० देखि १९ बर्ष उमेर समूहका किशोरीहरुलाई आइरन चक्की खुवाउन सुरु गरेको हो ।
किशोरीहरुमा हुने शारिरीक तथा मानसिक विकास र रक्तअल्पताको समस्यालाई नियन्त्रण गर्न महानगरले चक्की खुवाउन थालेको हो । महानगरक्षेत्रभित्रका सम्पुर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य बिषयका शिक्षक–शिक्षिका र स्वास्थ्य प्रमुखहरुसँगको समन्वयमा किशोरीहरुलाई चक्की खुवाउन सुरु गरिएको महानगरले जनाएको छ ।
अहिले महानगरक्षेत्रभित्रका ३३ वटा सामुदायिक विद्यालयका किशोरीहरुलाई आइरन चक्की खुवाउने अभियान चलिरहेको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए । विद्यालयको पहुँचबाट टाँढा भएका किशोरीहरुलाई पनि महानगरभित्र दरबन्दी रहेको १ सय ४८ जना महिला स्वास्थ्य स्वयंमसेविकामार्फत आईरन चक्की खुवाउने व्यवस्था मिलाईएको कार्कीले जानकारी दिए ।
किशोरीहरुका लागि अत्यावश्यक मानिने यो चक्की बर्षको २४ हप्तासम्म अनिवार्य सेवन गर्नुपर्ने महानगरले जनाएको छ । पहिलो ३ महिनासम्म हप्ताको एकपटक र ३ महिनाको अन्तर राखेर पुनः ३ महिनासम्म हप्ताको एकपटक किशोरीहरुलाई आइरन चक्की खुवाउने महागरको योजना छ ।