काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि मुलुकले दलीय सहकार्य खोजेको भन्दै त्यसतर्फ केन्द्रित रहन सबै दलका नेतृत्वसँग आग्रह गरेकी छन् । संसद् पुर्नस्थापनापछिको राजनीतिक अवस्था र दलबीच बढिरहेको तिक्तताबीच राष्ट्रपति भण्डारीले मंगलबार शितल निवासमा सर्वदलीय बैठक आह्वान गरेकी हुन् ।
बैठकमा उनले आपसी संवाद, सहकार्य र एकता नेपालको राजनीतिक सौन्दर्य भएको भन्दै दलीय एकता र सहकार्यबाटै मुलुकलाई अघि बढाइनुपर्ने आवश्यकता औल्याइन्। बैठकमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भने मुलुकले ताजा जनादेश खोजेको भन्दै संसद् विघटनकै पक्षमा धारणा राखेका थिए । त्यसपछि कांग्रेस वरिष्ठ नेता पौडेलले भने चुनाव मात्रै विकल्प नभएको भन्दै प्रधानमन्त्रीलाई संसद् सुचारु गर्नेतर्फ लाग्न सुझाएका थिए ।
‘प्रधानमन्त्रीको जोड ताजा जनादेशमा जानुपर्छ भन्ने नै थियो, उहाँ फेरि पनि संसद् विघटनकै पक्षमा देखिनुहुन्थ्यो,’ बैठकबाट बाहिरिएपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सञ्चारकर्मीसँगको संवादमा भने । बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता पौडेलले दलहरू एकताबद्ध ढंगबाट अघि बढ्नुपर्नेमा राष्ट्रपतिको जोड रहेको बताए ।
‘संविधान कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि दलहरू मिल्नुपर्छ भन्नेमा राष्ट्रपतिको जोड रह्यो, हामीले राष्ट्रपतिले दलहरूसँग संवाद गर्न ढिला गर्नुभयो । यो छलफल संसद् विघटनअघि नै हुनुपथ्र्यो भन्यौं,’ कांग्रेस वरिष्ठ नेता पौडेलले शीतल निवासमा भएको छलफलबारे जानकारी दिँदै भने ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटनको निर्णय सदर गर्दा राष्ट्रपतिले दलसँग आवश्यक परामर्श नगरेकोप्रति गुनासो राखेका थिए । यसैगरी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि राष्ट्रपतिले उचित समयमा दलसँग परामर्श नगरेको गुनासो गरेका थिए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले प्रचण्डसहितका नेताले राष्ट्रपतिले समयमा दलहरूसँग परामर्श नगर्दा मुलुकमा दलबीच राजनीतिक तिक्तताको अवस्था बढ्दो क्रममा पुगेको धारणा राखेको बताए ।
‘राष्ट्रपतिले समयमा दलसँग परामर्श गर्नुभएन, मुलुकको यो अवस्था आउनुमा प्रधमानमन्त्रीसँगै राष्ट्रपति पनि जिम्मेवार हुनुहुन्छ भन्ने धारणा दलका नेताले राखे, प्रचण्डले पनि त्यही भन्नुभयो,’ केसीले भने । ‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ, यहाँको नेतृत्वले सधैं उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनुपर्छ,’ राष्ट्रपतिले बैठकमा राखेको भनाइ उद्धृत गर्दै राष्ट्रपति कार्यालयले विज्ञप्तिमा भनेको छ ।
राष्ट्रपति भण्डारीले नेपालको अतिक्रमित भूभाग सामेल गरी गत जेठमा नयाँ रजनीतिक नक्सा प्रकाशन गर्न राजनीतिक दलले अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गरेको भन्दै दललाई धन्यवादसमेत दिइन् । यसैगरी, बंगलादेशका राष्ट्रपतिबाट ढाकामा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन निमन्त्रणा प्राप्त भएको र बंगलादेशको राजकीय भ्रमण गर्न लागेकोबारेसमेत दललाई राष्ट्रपतिले जानकारी गराएकी थिइन् ।
सर्वदलीय बैठकमा एमालेबाट अध्यक्ष ओलीसहित नेता ईश्वर पोखरेल, सुवास नेम्बाङ, विष्णु पौडेल, रामबहादुर थापा, कांग्रेसबाट सभापति देउवासहित वरिष्ठ नेता पौडेल, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइराला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित प्रवक्ता नारायणकाजी श्रेष्ठ र देव गुरुङ, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो, राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसमेतको सहभागिता थियो । यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी र जनकराज शर्मा तथा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल पनि सहभागी थिए । तर, एमाले नेता माधव नेपाल र झलनाथ खनाल तथा जसपा अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भने बैठकमा सहभागी भएनन् । – महेश्वर गौतमले लेखेको यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।