मोरङ । मोरङको जहदा–१ लंकाटोलबाट ठूलो परिमाणमा मदिरासहित गएराती एक भारतीय नागरिक पक्राउ परेका छन् । बिभिन्न ब्राण्डका सिलप्याक मदिरासहित भारत मटियारी ग्राम पंचायतका ३२ बर्षीय शिवलाल राय पक्राउ परेका हुन् ।
नेपालबाट भारततर्फ चोरी निकाशी गरी मदिरा लैजान लागेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले राती करिब १ बजे उनलाई पक्राउ गरेको हो । जहदा–१ लंकाटोलस्थित रमेश यादवको घर कोठामा भण्डारण गरिएको मदिरा उंमग लेखिएको ३ सय मिली ग्रामको ५७ काटुन, पलपल लेखिएको ३ सय मिलिग्रामको ४० काटुन बरामद भएको छ ।
त्यस्तै, सोफीका लेखिएको ३ सय मिलिग्रामको ३७ काटुन, हरपल लेखिएको ३ सय मिली ग्रामको १५२ काटुन र ३ सय मिलीग्रामको खुल्ला १९९५ बोतल मदिरा बरामद भएको प्रहरीले जनाएको छ ।
उक्त स्टोरमा मदिरा भण्डारण गरी नेपालबाट भारततर्फ चोरी निकासी गरी लैजान लागेका भारतीय नम्बर प्लेट डब्लूबी २० जेड १०८७ को कार र ४ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।