धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले बिभिन्न कार्यक्रम गरेर आफ्नो चौथो बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवका अवसरमा अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता, जग्गा दाताहरुलाई सम्मान र विद्यालयहरुलाई खेलकुद सामाग्री वितरण गरिएको हो ।
हाजिरी जवाफ प्रतियोगितामा जनता मावि जितपुर प्रथम, नविन शिक्षा सदन डाँडागाउँ दोस्रो र सरस्वती मावि कटहरे तेस्रो भएका छन् । प्रथम, दोस्रो र तेस्रो हुँने विद्यालयले क्रमसः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाएका छन् । संघीय सांसद राजेन्द्र राई, जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान, महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, उपप्रमुख मञ्जु कार्की, प्रमुख प्रशासकीय अधिकृत बसन्त गिरी लगायतले उनीहरुलाई पुरस्कृत गरेका छन् ।
त्यस्तै, बार्षिकोत्सवकै अवसरमा ३२ जना जग्गा दाताहरुलाई पनि सम्मान गरिएको छ । महालक्ष्मी नगरपालिका तथा नगरपालिका अन्र्तगतका अस्पताल, वडा कार्यालय र स्वास्थ्य सस्थाहरुलाई निःशुल्क जग्गा प्रदान गर्नेहरुलाई सम्मान गरिएको महालक्ष्मी नगर प्रमुखका सचिवालय प्रमुख बिष्णु दाहालले जानकारी दिए ।
त्यस्तैगरी, नगर क्षेत्रभित्रका १७ वटा माध्यमिक विद्यालयलाई एक/एक वटा भलिवल र नेट प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।