विराटनगर । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा र पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष मोहनकाजी न्यौपाने पुरस्कृत भएका छन् । पत्रकार झालाई षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार र न्यौपानेलाई षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो ।
सूचना अधिकारको क्षेत्रमा योगदान पुर्याएको भन्दै पत्रकार महासंघ मोरङ शाखाले शुक्रबार एक कार्यक्रमकाबीच झालाई नगद ५० हजार ५१ र न्यौपानेलाई १५ हजार १५ नगदसहित पुरस्कृत गर्यो । कार्यक्रममा १ नं. प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य, जिल्ला अध्यक्ष बन्धु पोख्रेल लगायतले दुवै पत्रकारलाई दोसल्ला र टोपी लगाईदिएर नगद तथा प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरे ।
सूचनाको हकको अभियानमा लागेका विराटनगर–११ का केदारबहादुर बस्नेतले स्वर्गिय श्रीमती षष्टिकाको नाममा स्थापना गरेको अक्षय कोषबाट पत्रकारद्वय झा र न्यौपानेलाई पुरस्कृत गरिएको हो । सूचनाको हकका क्षेत्रमा सक्रिय व्यक्तिलाई हरेक बर्ष यो पुरस्कार प्रदान गरिदै आएको छ ।
कार्यक्रममा प्रदेश प्रमुख प्यासीले ठूला–ठूला आन्दोलन भन्दा पनि एउटा पत्रकारको कलम निकै महत्वपूर्ण हुँने धारणा राखे । विद्यार्थीकालमा आफुहरुले गरेको आन्दोलनको समाचार पत्रिकामा छापिदा आन्दोलनमा थप बल पुगेको स्मरण गर्दै उनले सञ्चारमाध्यमको भूमिकाको प्रशंसा गरे । पत्रकार महासंघका केन्द्रिय अध्यक्ष आचार्यले पत्रकारहरुको पेशागत अधिकारका लागि महासंघ सधै लागिपर्ने धारणा राखे ।
षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट यसअघि पत्रकार शिव गाउँले, तारानाथ दाहाल र विनय कसजू पुरस्कृत भएका थिए भने प्रोत्साहन पुरस्कारबाट गणेश लम्साल र राजु श्रेष्ठ पुरस्कृत भएका छन् ।