पत्रपत्रिका खबर

काठमाडौं । मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ । चैतको दोस्रो साताबाट काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

Advertisement

समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको पानी पिउने काठमाडौंवासीको लामो समयदेखिको सपना अब छिट्टै साकार हुने बताए । उनले भने, ‘‘चैत दोस्रो साताबाट तीन महिनासम्म परीक्षणका रूपमा काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिनेछ । परीक्षण सफल भएपछि वितरण कार्य एक महिना रोकेर ‘फुल फेज’ मा पानी वितरण गरिनेछ ।’’

परीक्षणका रूपमा उपत्यकामा दैनिक १७ करोड लिटर पानी ल्याइने र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को वितरण प्रणालीबाट पानी वितरण गरिने कार्यकारी निर्देशक खत्रीले जानकारी दिए । सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित हेडबक्सबाट फागुन १० गते करिब २७ किलोमिटर लामो सुरुङमा पानी प्रवाह गराइएको थियो ।

कार्यकारी निर्देशक खत्रीका अनुसार काठमाडौं उपत्यकामा पानी वितरणका लागि चैतको दोस्रो साताबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा खसालिनेछ । सुरुङ सफा गर्ने काम भएकाले अहिले सुरुङको पानी बागमतीमा प्रवाह गरिएको छ । मेलम्चीको पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेडको विद्यमान वितरण प्रणालीमा मिसिन्छ र सँगसँगै वितरण हुनेछ ।-आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!