धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले बिभिन्न कार्यक्रम गरेर १११ औं नारी दिवस मनाएको छ । दिवसको अवसरमा छात्रा भलिवल प्रतियोगिता, महिला हाजिरी जवाफ प्रतियोगिता र म्यूजिकल चियर प्रतियोगिता गरिएको छ । त्यस्तै, उमेर हद नाघेका स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता दिएर सम्मान गरी विदाई गरिएको छ ।
दिवसको अवसरमा महालक्ष्मी उप-मेयर कप अन्तर मावि स्तरीय छात्रा भलिवल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा नविन शिक्षा सदन मावि डाडागाउँ बिजेता र नागेश्वर मावि लाटेभञ्ज्याङ्ग उप-बिजेता बनेका छन् । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा नगर क्षेत्रभित्रका ८ विद्यालयका टिम सहभागि थिए ।
त्यस्तै, अन्तर वडा स्तरीय महिला हाजिरी जवाफ प्रतियोगितामा वडा नंं. ५ प्रथम, वडा नंं.३ दोस्रो र वडा नंं.२ तृतीय भएका छन् भने वडा नंं.४ ले सान्तवना स्थान पाएको छ । यता, नारी दिवसकै अवसरमा खुल्ला म्यूजिकल चियर प्रतियोगिता पनि आयोजना गरिएको महालक्ष्मी नगरपालिकाका सहायक महिला विकास निरीक्षक गिता लुइटेलले जानकारी दिइन् ।
महिला स्वयंसेविकालाई भत्ता दिएर विदाई
नारी दिवसकै अवसर पारेर महालक्ष्मी नगरपालिकाले ६० बर्ष उमेर नाघेका १० जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानसहित विदाई गरेको छ । उमेर हद नाघेका स्वयंसेविकाहरुलाई प्रोत्साहनस्वरुप जनही ६०/६० हजार नगद प्रदान गरी सम्मान गरेर विदाई गरिएको नगरका स्वास्थ्य संयोजक पर्शुराम थापाले जानकारी दिए ।
विदाई हुँने स्वास्थ्य स्वयंसेविकाहरुमा महालक्ष्मी ७ का इन्दिरा नेपाल, विष्णुमाया वुढाथोकी, सुनमाया पाम्फु, वडा नंं.३ का पृथ्वीमाया लिम्बूखिम, वडा नंं.४ का मधुमालती श्रेष्ठ, देवकुमारी सारु, राधिका पौडेल, वडा नं.६ का चित्रादेवी भण्डारी र वडा नं.५ का लिलादेवी बस्नेत छन् ।
प्रदेश सांसद इन्द्रमणी पराजुली, जिल्ला समन्वय समिति प्रमुख टंक चुवान, महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल, उप मेयर मञ्जु कार्की, प्रमुख प्रशासकीय अधिकृत बसन्त गिरी लगायतले प्रोत्साहन भत्ता प्रदान गरी सम्मान गरेर स्वयंसेविकाहरुलाई विदाई गरेका छन् ।
नगरमा कार्यरत ५५ जना स्वयंसेविकाहरुलाई काममा सहजताका लागि व्यागसमेत वितरण गरिएको महालक्ष्मी नगरपालिकाले जनाएको छ ।