धनकुटा । छथर जोरपाटी गाउँपालिकाले १११ औं महिला दिवसको अवसर पारेर ६ जना महिला उद्यमीलाई पुरस्कृत र एक अगुवा महिला राजनीतिककर्मीलाई सम्मान गरेको छ । ‘उद्यमी अनुभव आदान-प्रदान तथा सम्मान कार्यक्रम’ गरेर महिलाहरुलाई सम्मान एवं पुरस्कृत गरिएको हो ।
सम्मानित तथा पुरस्कृत हुनेहरुमा वडा नं.१ का ढाका उद्यमी रविना लिम्बू, वडा नं.२ का ज्याकेट तयारी व्यवसायी कल्पना दर्लामी मगर र वडा नं.३ का बाख्रा पालक उद्यमी उर्मिला भुजेल छन् । त्यस्तै वडा नं. ४ का सिलाई कटाई व्यवसायी पार्वता जवेगु लिम्बू, वडा नं.५ का चिप्स तथा कुरमुरे उत्पादक पार्वता संग्रौला ओझा र वडा नं.६ का थुक्पा उद्योगी मेनुका कार्की पुरस्कृत भएका छन् । त्यस्तैगरी, वडा नं. २ की राजनीतिककर्मी धनीमायाँ सिंजालीलाई न्यानो कपडा प्रदान गरेर सम्मान गरिएको छ । सम्मानित धनीमायाँलाई कदर–पत्र र पुरस्कृत छ जनालाई कदर–पत्र र पुरस्कारस्वरुप ब्याग प्रदान गरिएको छ ।
गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बू र उपाध्यक्ष भीमकला श्रेष्ठले उनीहरुलाई दोसल्ला ओढाएर सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । कार्यक्रममा गाउँपालिका अध्यक्ष लिम्बूले महिलाहरुलाई राज्यले पुरुष सरह अधिकार दिएकाले अब महिलाहरुले अधिकार माग्नु नपर्ने र पाएको अधिकार सदुपयोग गरे पुग्ने धारणा राखे ।
महिला दिवसको अवसर पारेर छथर जोरपाटी गाउँपालिकाले ६ वटै वडाका महिलाहरुका लागि १५ दिने बुटिक तालिम पनि सुरु गरेको छ ।