संगालोखबर सम्वाददाता

विराटनगर । मोरङको बुढीगंगा–४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा ३ बर्षे ईलेक्ट्रोनिक्स तथा ईलेक्ट्रीकल ईन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुले १ दर्जन बहुउपयोगी वैज्ञानिक यन्त्र तथा उपकरण निमार्ण गरेका छन् । विद्यार्थीहरुले फाल्गुण २५ गते विश्वविद्यालयमा हुन गईरहेको प्रर्दशनीलाई लक्षित गर्दै सो यन्त्र तथा उपकरण निमार्ण गरेका हुन् ।

Advertisement

आईतबार कलेजको अन्तिम वर्षमा अध्ययनरत ईलेक्ट्रोनिक्स तथा ईलेक्ट्रीकल विभागका विद्यार्थीहरुले प्रर्दशनी लक्षित जानकारी प्रतिवेदन प्रस्तुत गर्दै निर्मित यन्त्र तथा उपकरणबारे विस्तृत जानकारी दिएका छन् । प्रर्दशनीका लागि क्याम्पसको ईलेक्ट्रोनिक्स विभागका विद्यार्थीहरुले अर्लाम मार्फत भुकम्पको पूर्व जानकारी दिने मेशिन, ब्लुटुथले नियन्त्रण गर्न सकिने तथा सौर्य उर्जाबाट सञ्चालित रोबोटिक सर्भाइलेन्स क्यामेरा, स्यानिटाईजिङ रोबोट, दुर्घटना पत्ता लगाउने तथा सवारीसाधन ट्रयाकिङ प्रणाली, तौल तथा उचाई मापन गर्ने मेशिन र अटोमेटिक एग ईनक्युबेटर निमार्ण गरेको जनाएका छन् । विद्यार्थीहरुले आफ्नो अध्ययनकालमा आर्जन गरेका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानको सदुपयोग स्वरुप न्युनतम लागतमा सो यन्त्र तथा उपकरणहरु निमार्ण गरेका हुन् । विद्यार्थीहरुद्धारा निर्मित हरेक यन्त्र तथा उपकरणले व्यवसायीकरणका लागि पर्याप्त सम्भावना बोकेको क्याम्पसका ईलेक्ट्रोनिक्स विभाग प्रमुख ईन्जिनियर सर्वेश चौधरीले बताए ।

प्रर्दशनीका लागि क्याम्पसको ईलेक्ट्रोनिक्स, ईलेक्ट्रीकल, मेकानिकल र सिभिल विभागलाई ६–६ भागमा विभाजन गरिएको छ । एक विभागबाट ६ वटा प्रोजेक्ट हुने गरि प्रर्दशनीका लागि विद्यार्थीहरुले कूल २४ वटा प्रोजेक्टहरु तयार पारेका छन् । प्रर्दशनीलाई लक्षित गर्दै ईलेक्ट्रिकल विभागका विद्यार्थीहरुले पनि बिशेष गरि कृषि क्षेत्रलाई लक्षित गर्दै सौर्य उर्जामा आधारित खेत जोत्ने मेशिन, बाली काटने मेशिन, रिमोट कन्ट्रोल घाँस काटने यन्त्र, एम.सी.बी तथा फ्युज परीक्षण गर्ने उपकरण, स्वतः सन्तुलन हुने थ्री फेज लोड र भ्याक्युम सर्किट ब्रेक्रर गरि ६ प्रकारका अत्याधुनिक यन्त्र तथा उपकरणहरु निमार्ण गरेका छन् । विद्यार्थीहरुले निमार्ण गरेका यन्त्र तथा उपकरणहरु कृषक वर्गका लागि पनि लाभदायक रहेको क्याम्पसका ईलेक्ट्रिकल विभाग प्रमुख ईन्जिनियर राम कुमार यादवले बताए । उनका अनुसार विद्यार्थीहरुद्धारा निर्मित उपकरणलाई व्यवसायीकरण गर्न सकिए यसले कृषक वर्गको शारीरिक श्रम, समय र खर्च बचतमासमेत सहयोग पुर्याउँने छ ।

यसवर्ष क्याम्पसले विद्यार्थीहरुद्धारा तयार पारिएका प्रोजेक्टहरुको उचित मूल्याङ्कन गर्दै कुनै एक बहुउपयोगी प्रोजेक्टलाई मनमोहन रिसर्च सेन्टरमा पठाउने र आवश्यक बजेट विनियोजन तथा डिजाईन गरि उक्त प्रोजेक्टलाई बजारमा ल्याउने तयारी गरेको जनाएको छ । विद्यार्थीहरुले निमार्ण गरेका यन्त्र तथा उपकरणलाई राष्ट्रिय अनुसन्धान केन्द्रसँगको स्वीकृत, समन्वय र सहकार्यमा पनि व्यवसायीकरण गर्दै लैजाने क्याम्पसको योजना छ । क्याम्पसको सिभिल र मेकानिकल विभागको प्रस्तुतीकरण भने सोमबार हुने जनाईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!