इटहरी । अब इटहरी र इटहरी आसपासका शुभकार्यहरुमा महिला समूहले नौमति बाजा घन्काउने भएका छन् । आज इटहरी उपमहानगरले एक महिला समूहलाई नौमती बाजा प्रदान गरेको छ ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा पञ्चेबाजा महिला समूहलाई नौमति बाजा प्रदान गरिएको हो । उपमेयर आत्मनिर्भर कार्यक्रम अन्तरगत महिला समूहलाई व्यवसायिक रुपमा अघि बढ्न नौमति बाजा प्रदान गरिएको उपमेयर लक्ष्मी गौतमले बताइन् ।
तारा निरौला संयोजक रहेको महिला समूहका महिलाले कार्यक्रममा नौमति बाजा घन्काएर सबैलाई नचाएका थिए । पुरुषले मात्र गर्ने भनिएको काम गर्न महिलालाई उत्प्रेरित गरि नौमति बाजा प्रदान गरेर नयाँ ढंगबाट व्यवसायिक बनाउन खोजिएको भन्दै प्रदेश १ की उपसभामुख शारदा पोखरेलले उमहानगरको यो कदमको प्रशंसा गरिन् ।