धनकुटा । जातीय विभेद तथा छुवाछुत उन्मुलनका लागि धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमारमा सचेतनामूलक सहभोज कार्यक्रम गरिएको छ । महालक्ष्मी नगरपालिकाको सहयोगमा सामाजिक विकास सरोकार केन्द्र धनकुटाले दलित र गैरदलितवीच सामूहिक भोज खाने कार्यक्रम गरेको हो ।
कार्यक्रममा दलित र गैरदलित समूदायका १५० भन्दा बढी व्यक्तिहरु सहभागी थिए । उनीहरुले छुवाछुत प्रथा तोड्दै सामूहिक रुपमा भोज खाएर छुवाछुतविरुद्ध सचेतनामूलक कार्यक्रम गरेका हुन् । छुवाछुत प्रथा तोडिएको खुसीयालीमा पञ्चेबाजा बजाएर नाचगानसमेत गरिएको सामाजिक विकास सरोकार केन्द्रका सचिव नैन बिश्वकर्माले जानकारी दिए ।
कार्यक्रममा महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले आफ्नै कार्यकालमा नगर क्षेत्रभित्र छुवाछुत प्रथा हटाउने दाबी गरेका छन् । उनले महालक्ष्मी नगरमा भएका दलित समूदायका २६ घर सुकुम्बासीलाई जग्गा उपलब्ध गराउँने र फुसको छानो भएका ९१ धरलाई टिनको छानो लगाइदिने प्रतिबद्धता पनि जनाए ।
कार्यक्रममा उपमेयर मञ्जु कार्की, दलित एकता समाजका सह–संयोजक कोपिला शंकर, वडा नंम्बर २ का वडाध्यक्ष ध्रुब राय लगायतले छुवाछुत प्रथालाई हटाउने अभियान चलाउनु पर्नेमा जोड दिए ।