- पत्रपत्रिका खबर

काठमाडौं । परीक्षालाई व्यवस्थित बनाउन त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षा सञ्चालन प्रक्रियामा सीसी क्यामेरालाई अनिवार्य गरेको हो ।

Advertisement

योसँगै त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी २० चैतभित्र परीक्षा सञ्चालन, उत्तरपुस्तिका सिलबन्दी कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य आउनेगरी डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने सीसी क्यामेरा जडान गरी सोको विवरण उपलब्ध गराउन सम्बन्धित परीक्षा केन्द्रलाई सूचित गरेको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षाको सीसी क्यामेराको दृश्यसहित सिलबन्दी गरेको उत्तरपुस्तिका पठाउनुपर्ने प्रावधान ल्याएको हो । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा र उत्तरपुस्तिकामा धाँधली नहोस् भन्दै यस्तो निर्णय गरिएको बताए ।

उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र प्रवेशद्वारको सबै दृश्य आउनेगरी डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने सीसी क्यामेरा जडान गरी सबै फुटेज २० चैतभित्र बुझाउन परीक्षा केन्द्रलाई पत्रमार्फत जानकारी गराएको छ । आगामी दिनमा पनि सीसी क्यामेरा जडान गरेर मात्रै परीक्षा सञ्चालन गर्ने योजना बनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुले निकालेको सूचनामा भनिएको छ, ‘वार्षिक परीक्षा प्रणालीअन्तर्गतका सम्पूर्ण परीक्षा केन्द्रलाई २० चैतभित्र परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य आउनेगरी कम्तीमा डेढ महिनासम्मको रेकर्ड गर्न मिल्ने सीसी क्यामेरा जडान गर्नुहुन अनुरोध छ ।’ सोको अनुगमन सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयलाई दिई आगामी दिनमा परीक्षा सञ्चालन गर्न त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले निर्णय गरेको हो ।

सम्बन्धित परीक्षा केन्द्रले परीक्षाको समयमा सीसी क्यामेरा जडान नगरे परीक्षाका लागि परीक्षा केन्द्रबाट वञ्चित गरिनेसम्म तयारी छ । हाल त्रिवि विज्ञान, व्यवस्थापन, शिक्षालगायतका संकायमा वार्षिक परीक्षा हुने गरेको छ । त्रिविले सञ्चालन गर्ने परीक्षामा पटकपटक प्रश्नपत्र निर्माणमा त्रुटि हुने गरेको देखिएको छ । तर, विद्यार्थीहरूले परीक्षा प्रणालीमै सुधार हुनुपर्ने बताएका छन् । प्रश्नपत्र निर्माण गर्ने निकायको चरम लापरबाहीका कारण प्रताडित हुनुपरेको विद्यार्थीको गुनासो छ ।

यस्तै, नेविसंघका केही विद्यार्थी त्रिवि उपकुलपति कार्यालयमा २९ दिनदेखि अनशन बसेका छन् । उनीहरूले विद्यार्थिका अधिकारका सवालमा त्रिवि मौन भएको भन्दै धर्ना दिएका हुन् । त्रिविले वार्षिक शैक्षिक क्यालेन्डर बनाए पनि कार्यान्वयन नगरेको अनशनरत विद्यार्थीको गुनासो छ । स्रोतका अनुसार त्रिविका उपकुलपति विद्यार्थी अनशन बसेदेखि आफ्नो कार्यकक्षमा छिरेका छैनन् ।- यो समाचार प्रशान्त वलीले आजको राजधानी दैनिकमा  लेखेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!