संगालोखबर सम्वाददाता

विराटनगर । ताप्लेजुङ्गको मेरिङदेन–३ दोभानका आगलागी पीडितलाई प्रदेश सरकारले राहत सामाग्री उपलब्ध गराएको छ । आज आगलागी बस्तीमा पुगेर प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईले राहत सामाग्री उपलब्ध गराउनुका साथै पीडितलाई थप राहत प्याकेजसमेत घोषणा गरेका छन् ।

Advertisement

आगलागी पीडित परिवारलाई प्रदेश सरकारले प्रति परिवार ५० हजार नगद उपलब्ध गराउने दोभान पुगेका मुख्यमन्त्री राईले बताए । त्यस्तै डेराभाडामा बस्दै आएका परिवारलाई प्रति परिवार ३० हजार नगद उपलब्ध गराइनेछ ।

आगलागी पीडितहरुको अवस्था बुझ्न घटनास्थल पुगेका मुख्यमन्त्री राईले पीडितहरुको माग अनुसार ग्यास सिलिन्डर, चुलो र प्रेसर कुकरसमेत उपलब्ध गराउने जानकारी दिनुभयो । मुख्यमन्त्री राईले संघीय सरकारसँग समन्वय गरेर पीडित परिवारलाई थप सहयोग गर्न प्रदेश सरकार लागि परेको बताए ।

प्रदेश सरकारको तर्फबाट पीडित परिवारलाई तत्कालका लागि १८ सय केजी चामल, २५० केजी दाल, नुन, तेल लगायतका खाद्यान्न र म्याट्रेस लगायतका सामाग्री दिइएको छ । आगलागीमा परी घाइते भएका मेरिङदेन–३ दोभानका भोला पौडेललाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

मुख्यमन्त्री राईका साथमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कुमार कार्की, प्रदेश सभा सभा सदस्य टंक आङबुहाङ, प्रताप प्रकाश हाङगाम लगायत आगलागी बस्तीमा पुगेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!