
इटहरी । सामान्य ह्विलचेयरमार्फत मेची–महाकाली यात्रामा निस्किएका मेरुदण्ड पक्षघात भएका सिन्धुपाल्चोकका रामबहादुर तामाङलाई इटहरीमा स्वागत गरिएको छ । इटहरीका नगरप्रमुख द्धारिकलाल चौधरीले तामाङलाई स्वागत गरेका हुन् ।
अपाङ्गताभएका व्यक्तिहरुले स्वतन्त्र, स्वाभिमानी र स्वावलम्वी जीवन जिउन पाउनुपर्ने अधिकारको बारेमा चेतना फैलाउन रामबहादुर ह्वलचेयरमार्फत मेची–महाकाली यात्रामा निस्किएका हुन् । उनले सामान्य ह्विलचेयरमार्फत लामो यात्राको विश्व रेकर्ड राख्नसमेत आफूले यो यात्रा सुरु गरेको बताएका छन् ।
उनले यसअघि नमोवुद्धदेखि लुम्बिनी ३६६ किलोमिटर र लुम्बिनीदेखि वोधगयासम्म ५५३ किलोमिटर ह्विलचेयरमा यात्रा गरिसकेका छन् । उनलाई मानबहादुर तामाङले साइकलमार्फत साथ दिइरहेका छन् । नगरप्रमुख चौधरीले उनीहरुको अभियान सफलताको कामनासमेत गरेका छन् । उनीहरुले काँकडभिट्टादेखि गत शनिबारबाट यात्रा सुरु गरेका हुन् ।















