धनकुटा । धनकुटा बहुमुखी क्याम्पसका विद्यार्थीहरुले आज क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको पुत्ला दहन गरेका छन् । नेकपाको प्रचण्ड–नेपाल पक्ष निकट विद्यार्थी संगठन अनेरास्ववियू सम्बद्ध विद्यार्थीहरुले क्याम्पस परिसरमै क्याम्पस प्रमुख होमबहादुर बस्नेत र सहायक क्याम्पस प्रमुख रुद्र पोख्रेलको पुत्ला जलाएका हुन् ।
स्नातक तह तेस्रो बर्षको परीक्षाका क्रममा गत सोमबार मानविकी संकायका सहायक क्याम्पस प्रमुख पोख्रेलले एक महिला परीक्षार्थीको बस्तुगत प्रश्नको उत्तरपुस्तिका साटेको आरोप छ । क्याम्पसमा कार्यरतसमेत रहेकी महिला परीक्षार्थीलाई बढी नम्बर दिलाउँन परीक्षार्थीसँगकै मिलेमतोमा सहायक क्याम्पस प्रमुख पोख्रेलले परीक्षार्थीको कपी निकालेर त्यसको ठाउँमा आफैले लेखेको कपी राखिदिएको विद्यार्थीहरुको आरोप छ । यो बिषय बाहिरिएपछि विद्यार्थीहरुले सहायक क्याम्पस प्रमुख पोख्रेललाई कारबाहीका लागि क्याम्पस प्रशासनलाई दवाव दिदै आएका थिए ।
तर, क्याम्पस प्रशासनले विद्यार्थीको मागलाई वेवास्ता गर्दै परीक्षाको मर्यादा उल्लंघन गर्ने सहायक क्याम्पस प्रमुखलाई बचाउँन लागि परेकाले क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको पुत्ला दहन गरिएको अनेरास्ववयूका धनकुटा बहुमुखी क्याम्पस इन्चार्ज प्रकाश गिरीले जानकारी दिए ।