पत्रपत्रिका खबर

काठमाडौं । कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ करोड १७ लाख नागरिकलाई कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउने महत्वाकांक्षी योजना ल्याएको छ ।

Advertisement

मन्त्रालयले सोमबार राष्ट्रिय सञ्चारमाध्यमका प्रधानसम्पादक तथा सम्पादकसँग अन्तरसंवाद गर्दै खोप अभियानलाई सफल बनाउन देशव्यापी रूपमा सकारात्मक प्रचारसहितको अभियानमा सहभागी हुन आग्रह गरेको हो । कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सरकारले नागरिकलाई जोखिमबाट मुक्त गराउने उद्देश्यसहित ठूलो मिहिनेत गरेर खोप ल्याउन सफल भएको स्पष्ट पारे । मन्त्री त्रिपाठीले खोप खरिद प्रक्रियालाई पारदर्शी बनाइने र कुनै प्रकारको अनियमितता हुन नदिने प्रतिबद्धता जनाए । मन्त्रालयका सचिव लक्ष्मण मैनालीले तीन वटै सरकारको समन्वयमा भ्याक्सिन अभियानलाई छिटै देशव्यापी बनाउँदै नागरिक स्तरमा सरकार रहेको प्रत्यक्ष अनुभूति दिइनेगरी काम गर्ने बताए ।

मन्त्रालयले कोरोनाविरुद्धको अभियान तथा खोप अभियान सफल बनाउन आवश्यक पर्ने उपायहरूका बारेमा सम्पादकहरूसँग समेत राय र सुुझाव लिएको थियो । सम्पादकहरूले खोप अभियानलाई छिटोभन्दा छिटो आम नागरिकसमक्ष पुर्याउनुपर्ने, पारदर्शिता अपनाउनुपर्ने, भ्याक्सिन अभियान सफल बनाउन स्पष्ट खालका नीति योजना तथा कार्यक्रम बनाउनुपर्ने तथा मिडियामैत्री नीतिसमेत अख्तियार गर्नुपर्ने सुझाव दिएका थिए ।

सो कार्यक्रममा मन्त्रालयका कोभिड–१९ खोप विज्ञ सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले कुल जनसंख्याको ७१.६२ प्रतिशत नागरिकलाई खोप उपलब्ध गराउनेगरी महत्वाकांक्षी योजना ल्याइएको जानकारी दिए । जसअनुसार २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइनेछ ।

योजनाअनुसार स्वास्थ्य तथा सामाजिक क्षेत्रका ९ लाख ११ हजार ३ सय ४२, ज्येष्ठ नागरिक, दीर्घरोगी, प्रवासी कामदार र शरणार्थी ५१ लाख ६४ हजार २ सय ६९ जनालाई खोप लगाइनेछ । यस्तै, ४० देखि ५४ वर्षका बाँकी सबै २९ लाख १ हजार १ सय ४, १५ देखि ३९ वर्ष उमेर समूहका १ करोड १७ लाख ८० हजार ४८ जनालाई खोप उपलब्ध गराइनेछ ।

सम्पूर्ण खोप व्यवस्थापनका लागि ४८ अर्ब ८३ करोड ४२ लाख ६५ हजार ८ सय ८९ रूपैयाँ लागत खर्च हुने अनुमान गरिएको छ । हाल पहिलो र दोस्रो प्राथमिकतामा रहेकाहरूलाई खोप लगाउने अभियान जारी छ । पहिलो प्राथमिकतामा कोरोना संक्रमण रोकथाममा खटिएका स्वास्थ्यकर्मी, वृद्धाश्रममा आश्रित नागरिक, कैदी बन्दीहरू, पत्रकार, सफाइकर्मीलगायत रहेका छन् । दोस्रो प्राथमिकतामा ५५ वर्ष र माथिका नागरिकहरू, ४० देखि ५४ वर्षको उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्तिहरू, वैदेशिक रोजगारबाट फर्किएका नागरिकहरू पर्छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार तेस्रो प्राथमिकतामा ४० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरू, १५ देखि ३९ वर्षसम्मको उमेर समूह भएकाहरू पर्छन् । मन्त्रिपरिषद्को मार्गदर्शनअनुसार नै खोपको छनोट गरिनेछ । खोपको गुणस्तर, हाल भइरहेका खोप भण्डारणको पूर्वाधारसँगको अनुकूलता, कम लागत र खोपको उपलब्धतालाई खोप छनोटका आधारहरूको रूपमा लिइएको छ ।

हाल नेपालमा बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनिका नामको बायोफर्मास्युटिकल कम्पनीले विकास गरेको र भारतको सेरम इन्स्टिच्युटबाट उत्पादित कोभिसिल्ड खोप उपयोगमा आएको छ । खोप विज्ञहरूका अनुसार यो खोप ७१ प्रतिशत प्रभावकारिता रहेको छ ।

हालसम्म देशभर ४ लाख २९ हजार ७ सय ५ जना नागरिकलाई कोभिसिल्ड खोप लगाइएको छ । यो खोप कम्तीमा ८ साताको फरकमा दुई मात्रा लगाउनुपर्छ । पहिलो मात्रा कोभिसिल्ड खोप लगाएपछि दोस्रो मात्रा पनि कोभिसिल्ड खोप नै लगाउनुपर्ने खोप विज्ञ डा. श्यामराज उप्रेतीले बताए । यो खोप दुईदेखि आठ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ ।

पहिलो प्राथमिकताको पहिलो चरण र पहिलो प्राथमिकताको पहिलो चरणमा थप गरिएको (उपत्यकाभित्र) र पहिलो प्राथमिकताको दोस्रो चरणमा खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ सम्म दिइने प्रस्तावित योजना बनाइएको छ । यस्तै, दोस्रो प्राथमिकताको पहिलो चरण आगामी २३ फागुनदेखि पहिलो मात्रा र २०७८ जेठ १७ देखि दोस्रो मात्रा दिइनेगरी स्वास्थ्य मन्त्रालयले योजना तय गरेको छ ।

सरकारले थप ५० लाख डोज खोप खरिद गर्ने तयारी गरेको छ । गत ८ माघमा भारतले १० लाख डोज खोप उपहारस्वरूप नेपाललाई उपलब्ध गराएको थियो भने सरकारले २० लाख डोज खोप खरिद गरी १० लाख डोज नेपाल ल्याइसकेको छ । बाँकी रहेको १० लाख डोज खोप पनि आउने क्रममा रहेको छ ।

सरकारले प्रतिडोज ४ डलरमा २० लाख डोज खोप खरिद गरेको थियो । कोभ्याक्समार्फत करिब १ करोड ३० लाख डोज खोप छिट्ट नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपि, पहिलो चरणमा भने केही दिनमा नै १९ लाख खोप आउने भएको छ । चीन सरकारले पनि ५ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने वाचा दिएको छ । स्वास्थ्य मन्त्रालयले आइतबार आयोजना गरेको प्रधान सम्पादकसँगको अन्तरक्रियामा खोप अभियान र यसको प्रभावकारिताका बारेमा समेत जानकारी गराइएको थियो ।

खोप लगाएपश्चात् केही व्यक्तिमा सुई लगाएको भागमा दुख्ने, सुनिने गाँठो पर्ने, टाउको दुख्ने, जिउ दुख्ने, जोर्नीहरू दुख्ने, मध्यम ज्वरो आए पनि गम्भीर प्रकृतिको असर नदेखिएको विज्ञ उप्रतीले बताए । उनका अनुसार पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप ४ लाख २९ हजार जनामध्ये कसैलाई पनि स्वास्थमा गम्भीर समस्या देखिएन ।

खोप विज्ञहरूका अनुसार १८ वर्षमुनिका बालबालिकामा यो खोपको सुरक्षा र प्रभावकारिता स्थापित नभएको कारणले दिन मिल्दैन । यस्तै, खोपको पहिलो मात्रापछि गम्भीर एलर्जी भएमा र यसभन्दा अघि अट्ट कुनै भ्याक्सिन, इन्जेक्टेबल थेराफिज, फुड आइटम्स, फर्मास्युटिकल प्रोडक्टसलगायतले गम्भीर एलर्जी भएमा र गर्भवती महिलालाई यो खोप दिनुहुँदैन ।

तर, पहिला कोभिड–१९ संक्रमण भएका व्यक्ति, दीर्घ रोग (मुटु, मस्तिष्क, फोक्सो, मिर्गौला रोग र क्यान्सर), रोग प्रतिरक्षा कमी वा एचआईभी भएका, बालबालिकालाई स्तनपान गराइरहेका आमालाई खोप दिन मिल्छ । खोप लगाएपछि हुन सक्ने अवाञ्छित घटनाका लागि आवश्यक व्यवस्था खोप केन्द्रमै गर्ने र प्रेषणको व्यवस्था मिलाइएको छ ।- आजको राजधानी दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!