
धनकुटा । धनकुटाकी एक युवतीलाई टिकटकको माध्यमबाट सम्बन्ध विस्तार गरेर बिहेको आश देखाई यौन शोषण गरेर गहना लुटपाट भएको घटना सार्वजनिक भएको छ । कास्कीको कास्कीकोट गाउँपालिका–४ का ३९ वर्षीय राजीभ गुरुङले टिकटकबाट धनकुटाकी २९ बर्षीया युवतीलाई साथी बनाई प्रेम प्रस्ताव राखेर बिहेको आसमा यौन शोषण गरी झुक्याएर गहना लुटेको घटना सार्वजनिक भएको हो ।
घटना माघ २७ गतेको हो । प्रहरीका अनुसार गत पुस महिनादेखि नै राजीभ र धनकुटाकी ती युवती टिकटकमा साथी बनेका थिए । उनीहरुबीच टिकटक म्यासेन्जरमा कुराकानी हुने गर्थ्यो । कुराकानी बढ्दै गएपछि राजीभले ती युवतीलाई प्रेम प्रस्ताव राखे । युवतीले पनि प्रस्ताव स्वीकार गरिन् । उनीहरुबीच विवाहको कुराकानीसमेत चलिसकेको थियो । त्यसपछि भेटघाट गर्ने कुरा भयो । दुवै जनाको सल्लाह अनुसार माघ २५ गते कास्कीबाट राजीभ इटहरी आए र युवती पनि धनकुटाबाट इटहरी झरिन् । उनीहरु इटहरी–९ स्थित आरआर होटलमा दुई दिन सँगै बसे । उनीहरुबीच शारीरिक सम्पर्क पनि भयो ।
ती युवतीलाई राजीभले आफ्नो संस्कार अनुसार विवाह गर्दा माइती पक्षबाट लगाएको गरगहना चोख्याउँनुपर्ने भन्दै खोल्न लगाए । र, युवती नुहाउँन वाथरुममा पसेपछि उनको १० आनाको सुनको ब्रासलेट, ६ आनाको सिक्री, ४ आनाको झुम्का र नगद २७ हजार ५ सय बोकेर राजीभ फरार भए । वाथरुमबाट निस्किदा राजीभलाई नदेखेपछि आफू लुटिएको पत्तो पाएर ती युवतीले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिइन् । अन्ततः प्रहरीले राजीभलाई खनारबाट पक्राउ गरी शुक्रबार इटहरीमा सार्वजनिक गरेको हो ।
पीडित युवतीको उजुरीका आधारमा खोजतलास गर्ने क्रममा खनारबाट प्रहरीले राजीभलाई पक्राउ गरेको हो । झापाकी अर्की युवतीलाई पनि त्यसैगरी टिकटकमा साथी बनाएर ठगी गर्न खोज्दै गरेको अवस्थामा राजीभलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले संगालोखबरलाई बताए । ‘धनकुटाकी युवतीलाई टिकटकको माध्यमबाट सम्बन्ध बनाएर यौन शोषण गरेर लुटिसकेपछि उसले झापाकी युवतीलाई पनि फसाउँन खोज्दै रहेछ,’ डिएस्पी केसीले संगालोखबरसँग भने–‘प्रारम्भिक अनुसन्धान र घटनाक्रम हेर्दा उसले पेसेवर रुपमा नै यो काम गर्दै आएको देखिन्छ ।’
प्रहरीका अनुसार राजीभ विवाहित हुन् भने युवती भने अविवाहित हुन् । पक्राउ परेका राजिभको साथबाट ती युवतीको एटीएम कार्डमात्र भेटिएको छ । गरगहना बिक्रि गरिसकेको पाइएको प्रहरीले जनाएको छ । राजीभविरुद्ध जबरजस्ती करणी कसुरमा मुद्दा दायर गरेर प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।















