काठमाडौं । वैदेशिक रोजगारीका नाममा साउनदेखि सात महिनामा झन्डै २८ करोड रुपैयाँ ठगी भएको छ । वैदेशिक रोजगार विभागले संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर बढी रहेको जनाएको छ । व्यक्तिगततर्फ १९ करोड ६९ लाख र संस्थागततर्फ ८ करोड १८ लाख रुपैयाँ ठगी भएको उजुरी विभागमा परेका छन् ।
व्यक्तिगततर्फ २ सय २४ उजुरी परेकामा विभागले माघसम्म ६४ वटा मुद्दा अदालतमा दायर गरेको छ । अदालतमा ११ करोड ४८ लाख बिगो दाबी गरिएको छ । गत वर्ष पहिलो ६ महिनामा व्यक्तिगततर्फ २ सय ४६ उजुरी दर्ता भएकामा १ सय ४१ वटा मुद्दा अदालतमा दायर गरिएको थियो ।
विभागका निर्देशक टीकामणि नेउपानेले व्यक्तिगत ठगीका मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमार्फत अदालतमा दायर गरिने जानकारी दिए । संस्थागत (म्यानपावर) ठगीका उजुरीमा विभागले पीडित र सञ्चालकबीच छलफल गराई बिगो फरफारक गराउँदै आएको छ । संस्थागततर्फ माघसम्म २ सय ५८ उजुरी परेका छन् । ८ करोड १८ लाख बिगो दाबी गरिएकोमा विभागले ६ करोड ८८ लाख रुपैयाँ बिगो भराएको छ ।
कोरोनाका कारण वैदेशिक रोजगार ठप्प भएको समय (साउन, भदौ र असोज)मा मात्र २ करोड १५ लाख ७७ हजार रुपैयाँबराबरको ठगी भएको उजुरी परेको थियो । कोरोना भाइरसको समयमा ठगी हुने क्रम बढेको देखिएको छ । निर्देशक नेउपानेका अनुसार वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटे पनि तुलनात्मक रूपमा ठगीको उजुरी बढेको छ ।
म्यानपावरविरुद्ध परेको उजुरीमा दोषी देखिए विभागले जरिवानासमेत तिराउने गरेको छ । पीडितलाई पैसा फिर्ता दिलाउनुका साथै म्यानपावरलाई जरिवाना भराउने गरिएको निर्देशक नेउपानेले बताए । विभागले जरिवानाबापत माघसम्म म्यानपावरबाट ५० लाख रकम असुलेको छ। त्यसैगरी, गत आर्थिक वर्ष पुससम्म विभागले ५१ लाख ५० हजार जरिवाना असुलेको थियो ।
पैसा लिएर विदेश नपठाउने, तोकिएभन्दा बढी शुल्क लिने, सम्झौताभन्दा अर्को काम र कम पारिश्रमिक दिनेलगायत उजुरी विभागमा पर्छन् । सम्झौताअनुसार काम नपाएर ठगीमा परेको भन्दै गन्तव्य मुलुकमा केही समय बसेर उजुरी गर्ने क्रम बढ्दो रहेको जानकार बताउँछन्। त्यस्तै, विदेश जान नपाई ठगीमा पर्ने क्रम पनि रोकिएको छैन ।
विभागका महानिर्देशक कुमारप्रसाद दाहालले वैदेशिक रोजगार ऐन २०६४ प्रभावकारी रूपमा कार्यान्वयन गर्न आकस्मिक अनुगमनलाई प्राथिमकता दिइएको बताए । अनधिकृत रूपमा काम गर्ने जो–कोहीलाई कारबाही गर्न पछि नपर्ने महानिर्देशक दाहालले बताए । ‘जस्तोसुकै अवरोध आए पनि एक्लो वृहस्पति भएर कामदारका पक्षमा डटेर सामना गर्दै आएको छु’, दाहालले भने । उनले आकस्मिक अनुगमन टोली खटाएर काठमाडौंका विभिन्न म्यानपावरका साथै इटहरीमा रहेका शाखामा समेत अनुगमन गरेका थिए ।
बिनास्वीकृति अन्तर्वार्ता लिने दर्जनौं म्यानपावर विभागको कारबाहीमा परेका छन् । त्यस्तै, भिजिट भिसामा पठाउन तल्लीन म्यानपावरलाई पनि कारबाही गरिएको दाहालले बताए। १८ म्यानपावरलाई आंशिक तथा पूर्ण कारोबार रोक्काको कारबाही गरिएको विभागले जनाएको छ ।- तुलसी सुवेदीले लेखेको यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।