
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ सिधुवाकी १०४ बर्षीया बृद्धा अन्नपूर्ण गुरुङले कोरोनालाई जितेकी छन् । कोरोना संक्रमण पुष्टि भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत बृद्धा गुरुङ शुक्रबार कोरोनामुक्त भएको परिवार स्रोतले जनाएको छ ।
खानपान, आराम र सकारात्मक सोचले कोरोना जित्न सफल भएको गुरुङले प्रतिक्रिया दिइन् । उनलाई माघ २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणको १७ दिनपछि आमाले कोरोना जित्न सफल भएको उनका छोरा मेघेन्द्रले संगालोखबरलाई जानकारी दिए ।
बृद्धा गुरुङका छोरा बुहारी, छोरी र नातिनीलाई पनि संक्रमण पुष्टि भएको थियो । अहिले परिवारका पाँचै जना संक्रमणमुक्त भइसकेका छन् ।















