संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले मंगलबार साँझ तालाबन्दी गरेका छन् । स्नातक तह तेस्रो बर्षको परीक्षाका क्रममा सहायक क्याम्पस प्रमुखले विद्यार्थीको उत्तरपुस्तिका साटेको आरोप लगाउँदै नेपाल विद्यार्थी संघको अगुवाइमा विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

एक महिला परीक्षार्थीले लेखेको बस्तुगत प्रश्नको उत्तरपुस्तिकालाई मानविकी संकायका सहायक क्याम्पस प्रमुख रुद्र पोख्रेलले निकालेर त्यसको ठाउँमा आफैले लेखेको उत्तरपुस्तीका राखेको आरोप छ । क्याम्पसमा कार्यरतसमेत रहेकी ती परीक्षार्थीलाई बढी नम्बर दिलाउँन परीक्षार्थीसँगकै मिलेमतोमा सहायक क्याम्पस प्रमुख पोख्रेलले कपी साटेको विद्यार्थीहरुले आरोप लगाएका छन् । परीक्षाको नियम र मर्यादा विपरित सहायक क्याम्पस प्रमुखले अमर्यादित क्रियाकलाप गरेको पाइएकाले उनलाई निलम्बनको माग गर्दै तालबन्दी गरिएको नेबी संघ क्याम्पस इकाइ समितिका सभापति करुणा कटुवालले बताइन् । नेवी संघले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गरेर कारबाहीका लागि २४ घण्टे अल्टिमेटमसमेत दिएको छ ।

यता, अनेरास्ववियूले पनि मंगलबार प्रेस विज्ञप्ति जारी गरेर दोषीलाई तत्काल कारबाहीको माग गरेको छ । ‘क्याम्पस प्रशासनमा भएको गतिविधिको हाम्रो संगठन घोर निन्दा गर्दै सत्य तथ्य छानविन गरी दोषी उपर तत्काल त्रिभूवन विश्वविद्यालयको नियम अनुसार कारबाही गर्न माग गर्दछौ,’ अनेरास्ववियू धनकुटा बहुमुखी क्याम्पस कमिटी संयोजक सन्जिव लिम्बू र सह–संयोजक सन्तोष बुढाथोकीद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘यस विषयलाई क्याम्पस प्रशासन र परीक्षा शाखाले २४ घण्टाभित्र सत्य तथ्य जानकारी नदिएको खण्डमा अनेरास्ववियू जस्तोसुकै आन्दोलनको नेतृत्व गर्ने यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’

यता, सहायक क्याम्पस प्रमुख पोख्रेलले आफुले उत्तरपुस्तिका नसाटेको दावी गरेका छन् । ‘मलाइ फसाउँन नियतबस र योजनावद्ध रुपमा आरोप लगाइएको छ । यो विषयमा छानविन हुँदैछ । सत्य तथ्य पत्ता लाग्ला,’ संगालोखबरसँग पोख्रेलले भने–‘मेरो दोष देखियो भने कारबाही भोग्न तयार छु । तर, आरोप पुष्टि भएन भने आरोप लगाउँनेलाई पनि कारबाही हुनुपर्छ ।’

क्याम्पस प्रमुख होमबहादुर बस्नेतले पनि उत्तरपुस्तिका नसाटिएको दावी गरेका छन् । परीक्षाको बिषयमा प्रश्न उठेपछि आफुले पनि यो बिषयमा थप अध्ययन गरिरहेको र केन्द्रिय परीक्षा बोर्डका अध्यक्षलाई पनि जानकारी गराइसकेको बस्नेतले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!