
धरान । धरानका छुट्टा–छुट्टै स्थानबाट लागुऔषधसहित सात जना पक्राउ परेका छन् । धरान उप-महानगरपालिका–३ का विनय तामाङ, उत्सव श्रेष्ठ र उमेश श्रेष्ठलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।
खैरो हेरोईन ओसार पसार र खरिदबिक्री गरेको सुचनाका आधारमा प्रहरीले भृकुटीपथस्थित विनय तामाङको कोठामा खोज तलास गरेको थियो । उनको कोठाबाट बिक्री गर्न प्लास्टिकमा प्याकिङ गर्दै गरेको अवस्थामा ५ ग्राम खैरो हेरोईन फेला परेको हो । प्रहरीले सोधपुछ गर्दा उक्त खैरो हेरोईन उत्सव र उमेशसँग मिलेर बिक्री गर्न ल्याइएको खुलेपछि उनीहरुलाई पनि पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
त्यस्तै धरान–८ लाङघाली चौकका ४५ बर्षीय यज्ञ बहादुर खड्कालाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । आफ्नौ कोठामा लुकाई राखेको अवस्थामा लागुऔषध डाइलेक्स–डीसी १०० एम.एल. लेखिएको २ बोतल, निट्रोसन ट्याब्लेट १६५ चक्की र स्पास्मो–प्रोक्सिभोन ७२ क्याप्सुलसहित खड्कालाई प्रहरीले पक्राउ गरेको हो । साथै धरान–८ कै २९ बर्षीय आकाश श्रेष्ठको साथबाट डाइलेक्स–डीसी १०० एम.एल. लेखिएको २ बोतल लागुऔषध फेला परेकाले उनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै गरी धरान–७ तरेवा होटलबाट धरान–१३ का २६ बर्षीय ओम प्रकास कार्की पक्राउ परेका छन् । उनको साथबाट १ ग्राम ६०० मिलिग्राम खैरो हेरोईन फेला परेकोे छ भने धरान–१५ स्थित सयपत्री मार्गबाट स्थानीय ४० वर्षीय कृष्ण थापा मगरलाई १ ग्राम ८०० मिलिग्राम लागु औषधसहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका सातै जनाविरुद्ध सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।















