- संगालोखबर सम्वाददाता

विराटनगर । मोरङको उर्लाबारीका एक युवकको शङ्कास्पद मृत्यु भएको घटनाको अनुसन्धानमा लापरवाही भएको भन्दै मृतकका आफन्तले इलाका प्रहरी कार्यालय उर्लाबारीमा नाराबाजी गरेका छन् । गत पुसमा मोरङका ३१ वर्षीय प्रविन बाँस्तोलाको मृत्यु भएको थियो । घटनापछि मृतकका बुबा प्रेमप्रसाद बास्तोलाले पुस २२ गते उर्लावारी–६ का राजेश रणपहेलीविरुद्ध किटानी जाहेरी दिएका थिए ।

Advertisement

इलाका प्रहरी कार्यालय उर्लाबारीमा पुस ९ गते यो घटना ज्यान सम्बन्धी कसुर दर्ता किताबको ६७ नम्बरमा उल्लेख गरिएको थियो । तर, पक्राउ गरिएका रणपहेलीलाई प्रहरीले फरेन्सिक प्रतिवेदन आउन ढिलाई भएको भन्दै गत माघ २ गते नै छोडेको थियो । प्रहरीले कानुन बमोजिम २५ दिन थुनामा राखेर अनुसन्धान गर्ने अवधी पूरा भएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयको निर्देशनमा प्रतिवादी छोडिएको थियो । यता, प्रहरीको मिलेमतोमा घटनाका प्रतिवादीलाई छोडिएको मृतकका परिवारको आशंका छ । अनुसन्धान प्रभावकारी नभएको र आरोपित व्यक्तिले उन्मुक्ति पाएको भन्दै आइतबार पीडित परिवार र स्थानीयवासीले जिज्ञासा राख्दा प्रहरीको लापरवाही पाइएपछि उनीहरु आक्रोशित भएका हुन् ।

शंकास्पद मृत्यु भएका व्यक्तिको मिसिलमा असम्बन्धित फोटो संलग्न गरेको भेटिएपछि प्रहरीले घटना ढाकछोप गर्न भूमिका खेलेको पत्ता लागेको मृतकको परिवारको दाबी छ । मिसिलमा समावेस गरिएको मृतकको तस्बीरमा चाँदीको सिक्री लगाएको पाइएको थियो । तर, मृतक फेला पर्दा उनको गलामा सिक्री थिएन । प्रहरीले अनुहार नै नचिनिने गलामा सिक्री लगाएको तस्वीर घटना मुचुल्कामा संलग्न गरेको पाएपछि आफन्त र स्थानीय आक्रोशित बनेका हुन् । ‘सुरुमा प्रहरीले दोषी पत्ता लगाउने आश्वासन दियो । तर, अहिले घटनाका आरोपित सबैलाई छोडिदिएको छ,’ मृतक प्रविणका बुबा प्रेमले भने ‘४ गते घरबाट निस्किएको छोरो ५ गते ११ बजे तिर मर्यो अरे भनेर नचिनिएको नम्बरको फोनबाट खबर आयो । कहाँ मर्यो, कसरी मर्यो कसले मार्यो, हामी परिवारका सदस्यलाई केही थाहा भएन । प्रहरी पनि प्रत्येक पटक अलग अलग बयान दिन्छ । मर्ने त मर्यो तर न्याय मर्नु भएन नि ।’ छोराको शव मृत अवस्थामा गोदावारी अस्पतालमा भेटिएको भएपनि उसलाई त्यहाँसम्म कसले ल्यायो भन्नेसम्म थाहा नभएको उनी बताउँछन् ।

प्रहरी नायव उपरीक्षकको संयोजकत्वमा छानविन

जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको सम्बन्धमा छानविन गर्न प्रहरी नायव उपरीक्षक मानबहादुर राईको संयोजकत्वमा छानविन समिति बनाइएको छ । आइतबार स्थानीयले इलाका प्रहरी कार्यालय उर्लाबारी घेराउ गरेपछि प्रहरीले छानविन समिति गठन गरेको हो । जिल्ला प्रहरी कार्यालयले बास्तोला मृत्यु प्रकरणको अनुसन्धानमा घटनाको तथ्यहरुमा तात्विक फरक पर्ने गरि प्रमाण संकलन र नष्ट गरि कसुरदारलाई उन्मुक्ति दिने गैह्रव्यवसायिक काम गरेको पाइएमा अनुसन्धान अधिकृतलाई कारवाही गर्ने दावी गरिएको छ । प्रहरीले सम्बन्धित इलाका इन्चार्ज, अनुसन्धान अधिकृत, प्रहरी कर्मचारी समेतलाई कारवाही गरिने भन्दै घटनाको अनुसन्धान नयाँ प्रक्रियाबाट गर्ने जिल्ला प्रहरी कार्यालय मोरङले विज्ञप्तीमार्फत जानकारी दिइएको छ ।

घटनाको सुरुवाती फेहरिस्तदेखि अहिलेसम्मको अवस्थाको अनुसन्धान गर्ने गरि टोलि खटाइएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । प्रहरीले जिल्ला सरकारी वकिलको रायका आधारमा जमानीमा छोडेको हो, पूर्ण उन्मुक्ति दिएको हैन,’ उपरीक्षक खड्काले भने ‘घटनाको अनुसन्धानमा त्रुटी रहेको पाइएमा संलग्न प्रहरीलाई कारवाही हुन्छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!