
विराटनगर । नेत्रविक्रम चन्द (विप्लव) समूहका मोरङ इञ्चार्ज धनबहादुर विक जेल चलान भएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश दुर्गा खड्काको इजलासले विकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि विकलाई बुधबार मोरङ कारागार चलान गरिएको हो ।
संखुवासभाको मादी–४ ओखरबोटेका विक उद्योगी व्यवसायीलाई धम्क्याउँदै चन्दा असुलेको आरोपमा पक्राउ परेका थिए । मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठ हत्याको आरोपसमेत लागेका विकको साथबाट प्रहरीले को २४ प ४००५ नम्बरको पल्सर मोटरसाइकलसहित सेमी अटोमेटिक पेस्तोल, ३ राउन्ड गोली लोड भएको म्याग्जिन, विभिन्न कम्पनीका मोबाइल ४ थान र सिमकार्ड ५ थान फेला पारेको थियो ।
मिक्लाजुङ–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई मंसिर २३ गते घरबाट अपहरण गरी करिब ५ सय मिटर पर बर्खेको जंगलमा लगेर घाँटी रेटी विभत्स हत्या गरिएको थियो । विप्लव नेतृत्वको नेकपाले विज्ञप्ति जारी गरेर प्रतिकारमा मारिएको दावीसहित शिक्षक श्रेष्ठ हत्याको जिम्मेवारी लिएको थियो ।
तर, विप्लव समूहलाई चन्दा नदिएको र सुराकी गरेको भन्दै हत्या भएको आरोप छ । हत्या आरोपमा विकसहित प्रतिबन्धित नेकपाका महासचिव चन्दलगायत ४२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता छ । विकबाहेक ४१ जना प्रहरीको फरार सूचिमा छन् ।















