- पत्रपत्रिका खवर

काठमाडौं । डाक्टरहरूले परामर्श तथा जाँच्ने शुल्क बढाएसँगै बिरामी मर्कामा परेका छन् । चिकित्सकीय परामर्श शुल्क अत्यधिक रूपमा बढेपछि उपचार गर्न नसक्ने बिरामी स्वास्थ्य सेवा लिन पाउने हकबाट समेत वञ्चित हुने देखिएको छ । यसले विपन्न र गरिब नराम्ररी प्रभावित हुनेछन् ।

Advertisement

नेपाल चिकित्सक संघ र एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले पुनरावलोकन भएको चिकित्सकीय परामर्श शुल्क लिन आग्रह गरेका छन् । अबदेखि चिकित्सकले परामर्श दिएबापत बिरामीमार्फत पहिलेकोभन्दा केही शुल्क बढी लिनेछन् । चिकित्सकको अनुभव र योग्यताका आधारमा ३ सय ७० रुपैयाँदेखि अधिकतम ८ सय २५ रुपैयाँसम्म शुल्क लिनेछन् ।

नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क परिमार्जन गरिएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए । योसँगै नयाँ शुल्कअनुसार पाँच वर्षसम्म वा सोभन्दा कम अनुभव भएका एमबीबीएस र बीडीएस डाक्टरले ३ सय ७०, पाँच वर्षभन्दा माथिकाले ४ सय ५० रुपैयाँ ओपीडी शुल्क लिन पाउनेछन् ।

यस्तै, एमबीबीएस र बीडीएस पास भएर डिप्लोमा तालिम लिएका डाक्टरले पाँच वर्षभन्दा कम अनुभव भएकाले पाँच सय १५ र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ५ सय ९० रुपैयाँ शुल्क लिन पाउनेछन् ।

यस्तै, एमडी/एमएस र एमडीएस डाक्टरको हकमा पाँच वर्ष अनुभव नभएकाले ६ सय ६० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ७ सय रुपैयाँ लिन पाउने भएका छन् । डीमए तथा एमसीएच गरेका डाक्टरको हकमा पाँच वर्षभन्दा कम अनुभव भएकाले ७ सय ७० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ८ सय २५ रुपैयाँ लिन पाउने भएका छन् ।

१० वर्षभन्दा बढी अनुभव भएका एमडी, एमएस र एमडीएस डाक्टरले ८ सय २५ रुपैयाँ शुल्क लिन पाउने भएका छन् । डाक्टरको परामर्श शुल्क २०७१ असोज १ गतेदेखि तोकिएको हो । सो समयमा हरेक दुई/दुई वर्षमा शुल्क पुनरावलोकन हुने निर्णय भएको थियो ।

स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन तथा पेसागत संघसंगठनको संयुक्त संघर्ष समितिसँग स्वास्थ्य मन्त्रालयले गत ४ माघमा गरेको सम्झौतापत्रमा चिकित्सकको परामर्श शुल्कलाई ३० दिनभित्रमा लागू गर्ने उल्लेख थियो । सोहीबमोजिम शुल्क पुनरावलोकन गरिएको बताइएको छ ।

यस्तै, निजी अस्पतालमा कार्यरत मेडिकल अधिकृतको न्यूनतम तलब ४२ हजार कायम गरिएको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन)को बुधबार बसेको बैठकले मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार तोकेको हो ।

सुशासन ऐन, २०६३ अनुसार स्वास्थ्य संस्था स्थापना, सञ्चालन र स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिकाअन्तर्गतको अनुगमन समितिको सिफारिसमा चिकित्सकको परामर्श शुल्क निर्धारण गरेको हो । सरकारले कुनै सेवा र वस्तुमा अधिकतम भाउ तोकेको छ भने त्योभन्दा बढी लिनेलाई कालोबजारी ऐनअनुसार कारबाही हुन्छ ।

सो कारबाही अन्तर्गत एकदेखि तीन वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुन सक्छ । केही अस्पतालमा डाक्टरले परामर्श तथा बिरामी जाँच शीर्षकमा मनपरी शुल्क असुल्दै आए पनि यसअघि नियमन हुन सकेको थिएन ।-प्रशान्त वलीले लेखेको यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!