- संगालोखबर सम्वाददाता

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाका नेता उठान मादेन र पुन्यप्रसाद खतिवडाले पार्टी उपाध्यक्ष बामदेव गौतम समूहले दिएको पद अस्वीकार गरेका छन् । केपी ओली र प्रचण्ड–माधव समूहको विवादका कारण नेकपा फुटको संघारमा रहेका बेला उपाध्यक्ष गौतमले पार्टी एकताको नाममा अभियान चलाइरहेका छन् । सोही अभियानमा दिइएको जिम्मेवारी नेता मादेन र खतिवडाले अस्वीकार गरेका हुन् । दुवै जनाले पद अस्वीकार गरेको भन्दै बेग्ला बेग्लै विज्ञप्ति जारी गरेका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा पुस ५ गते संसद् विघटन भएदेखि नै प्रचण्ड–माधव समूहले त्यसको विरोधमा देशव्यापी कार्यक्रम गरिरहेको छ भने ओली समूहले संसद् विघटनको बचाउँ गर्दै आएको छ । यसबीचमा मध्यमार्गी भूमिका निर्वाह गर्दै उपाध्यक्ष गौतमले नेताहरुलाई जिम्मेवारी प्रदान गरी एकता अभियान चलाइरहेका छन् । सोही अभियानमा नेता मादेनलाई केन्द्रिय सदस्य र खतिवडालाई केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्जको जिम्मेवारी प्रदान गरिएको भन्दै उनीहरुले पद अस्वीकार गरेका हुन् । बामदेवलाई साथ नदिने भन्दै मादेनले आफु ओली पक्षमा रहेको बताएका छन् भने खतिवडाले संसद् विघटनको विरोध गर्दै प्रचण्ड–माधव पक्षको अभियानलाई साथ दिएका छन् ।

‘केही दिन अगाडि मलाई कुनै पनि सूचना नदिइ बामदेव गौतमको पार्टीको केन्द्रिय सदस्य राखेको भन्ने जानकारी प्राप्त भयो । यो विषय सरासर मेरो लामो राजनीतिक जीवन समाप्त पार्ने हिसावले आएको छ,’ मादेनले वुधवार जारी गरेको हस्तलिखित विज्ञप्तिमा भनिएको छ, ‘म मेरो पुरानो मूलधारको पार्टी केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको धनकुटा जिल्ला कमिटी सदस्यमा नै रहेको छु र आगामी दिनमा पनि यही रहनेछु ।’

यता, खतिवडाले पनि केही दिन अघि विज्ञप्ति जारी गरेर पद अस्वीकार गरेका थिए । ‘केही दिन यता मेरो नामसमेत जोडेर बामदेव गौतम नेतृत्वको नेकपा एकता अभियान केन्द्रिय समन्वय समिति सदस्य तथा धनकुटा इन्चार्ज भनि मेरो जानकारी र सहमतिविना नाम राखेर विभिन्न मिडियामा प्रचार भएको प्रति मेरो गंम्भीर ध्यानाकर्षण भएको छ,’ खतिवडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिष्ट आन्दोलनलाई विभाजन गर्ने र राजनैतिक परिवर्तनका उपलब्धिहरु धरापमा पार्ने प्रतिगामी र असंवैधानिक कदमविरुद्ध नेकपाको मूलधार पुष्पकमल दाहाल र माधव कुमार नेपाल नेतृत्वको पार्टीमै निरन्तर कृयासिल रहेकाले यस्ता कुप्रचारको खण्डन गर्छु ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!