
मोरङ । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सवेदीले जहिले पनि बेलबारी पहिलो नै हुने दाबी गरेका छन् । सकुम्बासी समस्या समाधान आयोगका पदाधिकारीहरुलाई उनले जग्गा धनिपुर्जा वितरण गर्ने काममासमेत बेलबारी पहिलो हुने बताएकाहुन् ।
‘अहिलेसम्म कुनै पनि काममा बेलबारी दोस्रो भएको छैन’ नगर प्रमुख सुबेदीले भने ‘जनताको हितका लागि जहिल्यै पनि पहिलो नै हुन्छौ ।’ नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीहरुलाई वडास्तरमा गएर लगत संकलन गर्नु अगाडि गरेको अभिमुखिकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अभिमुखिकरण कार्यक्रममा बोल्दै आयोगका प्रदेश १ संयोजक गोपाल गुरागाईले बेलबारी बाट नै पुर्जा वितरण गर्ने लक्ष्य लिएकाले सोही अनुसार काम हुनेमा आफू विश्वस्त रहेको र यो आयोग नै अन्तिम भएकाले कोही छुट्न नहुने बताए । त्यस्तै आयोगका जिल्ला अध्यक्ष डीपी राईले स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने बताए ।
दलित भूमिहिन, भूमिहिन सकुम्बासी, अव्यवस्थित बसोवासीहरुलाई जग्गा धनिपुर्जा वितरण गर्न कर्मचारीहरुको व्यवस्थापन गरीसकेको नगरपालिकाले जनाएको छ । आयोगले बेलबारीमा ६ हजार ६१ घरधुरीलाई जग्गा धनिपुर्जा वितरण गर्ने प्रस्तावित विवरण तयार गरेको छ ।















