धनकुटा । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपाल धनकुटा आउँने भएका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहले फागुन १ गते शनिवार धनकुटाको त्रिवेणी स्कूलको प्राङ्गणमा गर्ने जनसभालाई संवोधनका लागि नेता नेपाल धनकुटा आउँने भएका हुन् ।
संसद् विघटन विरुद्ध बिहान ११ बजे आयोजना गरिएको जनसभालाई संवोधनका लागि नेता नेपालसहित नेकपाका स्थायी कमिटी सदस्य बर्षमान पुन, प्रदेश इन्चार्ज भीम आचार्य लगायत नेताहरु धनकुटा आउँने नेकपा धनकुटाका सचिव ऋषिराम ढुंगानाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको भन्दै अहिले धनकुटासहित देशभर विरोध कार्यक्रम भइरहेका छन् । प्रधानमन्त्री ओलीले चालेको प्रतिगामी कदमलाई सच्याउँन खबरदारी गर्दै यो बिषयमा जनतालाई सचेत गराउँनुपर्ने भएकाले केन्द्रिय नेताहरुको उपस्थितीमा कार्यक्रम आयोजना गरिएको नेकपा धनकुटाका प्रचार बिभाग प्रमुख अर्जुन राईले बताए ।
यसअघि नेकपाको केपी ओली समूहले पनि गृहमन्त्री एवं नेकपाका सचिवालय सदस्य राम बहादुर थापालाई ल्याएर धनकुटाको त्रिवेणी स्कूलको प्राङ्गणमा सभा गरेको थियो । यता, संसद् विघटनको विरोध गर्दै जनता समाजवादी पार्टीले पनि धनकुटामा पूर्व प्रधानमन्त्री एवं पार्टीका संघीय परिषद् अध्यक्ष डा.वावुराम भट्टराइलाई ल्याएर विरोध कार्यक्रम गरेको छ ।
संसद् विघटनपछि नेकपाको प्रचण्ड–नेपाल समूहसहित बिभिन्न पार्टीले त्यसको विरोधमा देशभर बिभिन्न कार्यक्रम गर्दै आएका छन् भने नेकपाको केपी ओली समूहले त्यसको बचाउँमा अभियान चलाइरहेको छ ।