
विराटनगर । विराटनगरबाट १० लाख बराबरको प्रतिबन्धित औषधीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१० स्थित न्युरो अस्पताल नजिकै डेरामा बस्ने विराटनगर–५ का विक्रम मण्डललाई ६९ प्रकारका औषधीसहित प्रहरीले पक्राउ गरेको हो ।
विषेश सूचनाका आधारमा खटिएको प्रहरी टोली उनको कोठामा पुगेको थियो । कोठामा तलासी गर्दा १० लाख ३ हजार १८० रुपैयाँ बराबरका औषधी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । साथै औषधीमा टाँस्न प्रयोग गरिने स्टीकर बनाउने कलर प्रिन्टरसमेत फेला परेको छ ।
प्रहरीका अनुसार मण्डलले भारतबाट प्रतिबन्धित औषधी नेपालमा ल्याएर बिक्री गर्ने गरेका छन् । बरामद भएका औषधीहरू नेपालमा बिक्री गर्न अनुमति छैन ।















