पत्रपत्रिका खबर

धनकुटा । पाख्रीवास नगरपालिका–१ सान्नेका एक स्थानीय किसानले हरेक वर्ष लाखौं रुपैयाँ आम्दानी दिने रुद्राक्षको बोट अज्ञात व्यक्तिले तेजाब लगाएर मारिदिएको गुनासो गरेका छन् ।

Advertisement

हरेक वर्ष ५ देखी ७ लाख रुपैयाँसम्म आम्दानी दिने रुद्राक्षको बोटको फेदमा आफु घरमा नभएको समयमा तेजाब लगाईदिएको सान्नेका लालबहादुर सार्कीले बताए । केही दिन अघिदेखि एक्कासी रुद्राक्षको बोट सुक्न थालेपछि के भएर सुकेछ भनेर हेर्दा रुद्राक्षको जरा डडेर कालो भएको अवस्थामा पाएको लालबहादुरले बताए । उनले रुद्राक्षको जरा खोतलेर हेर्दा पूर्ण रुपमा ढडेर कालो भएको भन्दै स्थानीय सरकारसँग न्यायको लागि हारगुहार गरेका छन् ।

सार्कीले रुद्राक्षको फेदमा तेजाब हालेको विषयलाई लिएर पाख्रीवास नगरपािलका वडा नं. १ को कार्यालयमा आवश्यक सहयोगको लागि उजुरी दिएका छन् । उनले रुद्राक्षको बोटमा विषादी वा तेजाब हालिएको बारे परिक्षण वा छलफल गरी पाउँ भनि ०७७ माघ ४ गते निवेदन दिएका थिए । वडा कार्यालयलाई समाज भेला गरेर छलफल गराई दिन अनुरोध गर्दा विषादी प्रयोग भए नभएको पत्ता लगाउन सिफारिस मात्र गरि दिएको गुनासो गरे ।

वडा कार्यालयले स्थानीयवासीसँग रुद्राक्ष दानाको फेदमा विषादी हो, होईन के भएको हो भन्ने विषयमा आवश्यक छलफल नगरी सिफारिस मात्र दिएको थियो । उनले पाख्रीवास कृषि अनुशन्धान केन्द्रमा पुनः वडाध्यक्ष हेमबहादुर पाण्डेले दिएको सिफारिससहितको निवेदन लिएर परिक्षणका लागि पुगेको बताए ।

उता पाख्रीवास कृषि अनुशन्धान केन्द्रमा लालबहादुरले परिक्षणको लागि वडाको सिफारिससहित निवेदन दिएपछि कृषि अनुसन्धान केन्द्रका वैज्ञानकिहरु तत्काल रुद्राक्षको फेदको माटो परिक्षण गर्न सान्ने पुगेका थिए । पाख्रीवास कृषि अनुसन्धान केन्द्रका वैज्ञानिकहरुले रुद्राक्षको बोटको फेदको माटो लिएर परिक्षण गर्दा कुनै पनि रोगको जिवाणु नभेटिएको रिपोर्ट आएको केन्द्र प्रमुख डा. गोविन्दप्रसाद तिम्सिनाले बताए । केन्द्रको रिपोर्टमा रसायन र विषादीको परिक्षण नहुने भएकोले के कारणले रुद्राक्षको विरुवा मरेको हो भनि एकिन गर्न नसकिएको पनि डा. तिम्सिनाले बताएका छन् ।

कृषि अनुसन्धान केन्द्रले गरेको परिक्षणबाट पनि चित्त नवुझेपछि लालबहादुर फेरी जिल्ला प्रहरी कार्यालयमा वडाको सिफारिस र केन्द्रको परिक्षण रिपोर्ट लिएर पुगेका थिए । तर, प्रहरीले निवेदन लिन नमानेपछि उनी अहिले अन्योलमा परेका छन् । हरेक वर्ष लाखौं रुपैयाँ आम्दानी दिने रुद्राक्षको रुख मरेपछि आफूविरुद्ध सत्रु लागेको उनले गुनासो गरे ।-सन्तवीर लामाले लेखेको यो खबर आजको ब्लास्ट दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!