पत्रपत्रिका खबर

धनगढी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा पाँच दिनदेख प्रहरी नै अलमलमा परेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथीको शव बिहीबार साँझ स्थानीय लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो।

Advertisement

घटनास्थलमा भेटिएका प्रमाण, भागरथीको शव नजिकै भेटिएको उनको मोबाइलको प्राविधिक पक्ष, पोस्टमार्टम रिपोर्ट केलाउँदा पनि प्रहरीले अनुसन्धानको दायरा साँघुरो पार्न सकेको छैन। बैतडीका जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीसहितको टोली बिहीबार नै घटनास्थलमा खटिएको थियो। उक्त टोलीले घटनास्थलको मुचुल्का तयार पारेको थियो। त्यस दिन घटनाका दोषीको कुनै प्रमाण पाइएको थिएन। घटनास्थलमा किशोरीको शवबाहेक केही फेला परेको थिएन। टाउकामा चोट लागेको, भित्री वस्त्र चुँडिएको, शरीरमा टोकेका घाउ भएको, यौनांगबाट रगत बगेको, टाउको र हातमा घाउसमेत रहेको अवस्थामा शव फेला परेको थियो।

त्यसको दोस्रो दिन प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, सरकारी वकिल र जिल्ला अस्पतालका चिकित्सक वसन्त जोशीसहितको टोली पनि घटनास्थल पुगेको थियो। उक्त दिन पनि लबलेक वनमा पूरै सर्च गर्दा खासै प्रमाण भेटिएन। सुदूरपश्चिम प्रदेश प्रहरीले एसएसपी जनकराज पाण्डे नेतृत्वको टोलीलाई घटनास्थलमा खटाएको छ। धनगढीबाट तालिमप्राप्त कुकुर, काठमाडौंबाट डीएसपी नेतृत्वको सीआईबीको टोली, जिल्ला प्रहरी प्रशासनले कुनै सुराक पत्ता लगाउन सकेका छैनन्।

सुदूरपश्चिम प्रदेशका डीआईजी उत्तम सुवेदी आइतबार घटनास्थल पुगेका छन्। ‘डीआईजी साप, मेरो टोली, प्रमुख जिल्ला अधिकारीसहितको टोली इलाका प्रहरी कार्यालय खोचलेक (घटनास्थलनजिकको प्रहरी) मुकाम बनाएर बसेका छौं’, एसएसपी पाण्डेले भने, ‘अनुसन्धानमा सबै उपकरण, जनशक्ति परिचालन गरिएको छ। तर, खासै उपलब्धि पाउन सकिएको छैन।’

एसएसपी पाण्डेले आइतबारको टेक्निकल अनुसन्धानमा भने अनुसन्धान केही साँघुरिएको दाबी गरे। ‘आइतबार केही सकारात्मक कुरा आएको छ। हामी त्यसको भेरिफाई गरिरहेका छौं’, पाण्डेले भने, ‘६ जनासँग सोधपुछ गरिएको छ।’ उनले घटनास्थलमा भेटिएको किशोरीको मोबाइलका आधारमा कल डिटेल निकालेर अनुसन्धान अगाडि बढाइएको बताए।

मोबाइल लोकेसन घटनास्थलमै
भागरथीको मोबाइल लोकेसन भने लबलेकको वन नै पाइएको प्रहरी स्रोतले जनाएको छ। ‘उनको लोकेसन लबलेक वन नै देखिएको छ। त्यसैले हत्या वनमै भएको तथ्यले देखाएको छ’, प्रहरी स्रोतले भन्यो।

प्रहरीको टेक्निकल अनुसन्धान टोलीले त्यो बेला घटनास्थल आसपास अरू कुन मोबाइल थियो भन्ने पत्ता लगाउन सकेको छैन। ‘मोबाइलमा कुराकानीका आधारमा हामीले त्यसको नम्बरबाट लोकेसन हेर्ने हो। तर, फोन गरिएका धेरै नम्बरमा त्यो फेला परेन’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने।

पोस्टमार्टम रिपोर्टमा पनि बलात्कारपछि हत्या
जिल्ला अस्पतालले पोस्टमार्टम रिपोर्ट सार्वजनिक गरेको छैन। तर, प्रहरी उच्च स्रोतले पोस्टमार्टममा पनि बलात्कारपछि हत्या पुष्टि भएको जनाएको छ। ‘बलात्कारपछि हत्या भएको रिपोर्ट आएको छ’, स्रोतले भन्यो। घटनास्थलमै आएका चिकित्सक जोशीले जिल्ला अस्पतालमा पोस्टमार्टम गरेपछि मात्रै मृत्युको कारण पत्ता लाग्ने बताएका थिए। ती किशोरीको शवको शनिबार बेलुकी जिल्ला अस्पतालमा पोस्टमार्टम गरिएको हो।

भजाइनल स्वाब काठमाडौं पठाइयो
अनुसन्धानमा खटिएका एसएसपी जनकराज पाण्डेले मृतक किशोरीको भजाइनल स्वाब संकलन गरी आइतबार विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको बताए। ‘त्यसका लागि पोस्टमार्टम रिपोर्ट चाहिँदो रहेछ, रिपोर्ट मेलबाट पठाउने गरी भजाइनल स्वाब विधि विज्ञान प्रयोगशालाका लागि पठाइएको छ’, एसएसपी पाण्डेले भने।

प्रहरी तेस्रो पटक घटनास्थलमा
निर्मला पन्तको घटनाजस्तै पेचिलो देखिएको भागरथी हत्यामा खासै सुराक नपाइएपछि प्रहरीको टोली आइतबार तेस्रो पटक घटनास्थल पुगेको छ। पहिलो दिन बैतडीका डीएसपीसहितको टोली, दोस्रो दिन एसएसपी जानराज पाण्डेसहित सीआईबीको टोली तालिमप्राप्त कुकुर लिएर घटनास्थल पुगेको थियो। आइतबार डीआईजी उत्तम सुवेदीसहितको प्रहरी टोली घटनास्थल पुगेको हो।

विद्यार्थीले गरे विरोध प्रदर्शन
दोगडाकेदार गाउँपालिकास्थित सनातन धर्म माविका विद्यार्थीले आइतबार पटक–पटक खोचलेक बजारमा प्रदर्शन गरेका छन्। उनीहरूले यातायात बन्द गराए। भागरथी उक्त विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्। प्रदर्शनमा सहभागी विद्यार्थीले भागरथीको हत्यामा संलग्न दोषी पत्ता लगाउन माग गरेका छन्। यस्तै, जिल्ला सदरमुकाम गोठलापानीमा पनि विद्यार्थीले प्रदर्शन गरेका छन्।

शव बुझ्न अस्वीकार
भागरथीका आफन्तले शव बुझ्न अस्वीकार गरिरहेका छन्। शनिबार साँझ पोस्टमार्टम गरिएको थियो। आफन्त शिवराज भट्टले हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने बताए। उनले घटनामा संलग्न दोषीलाई कारबाही गरी भागरथीलाई न्याय दिनुपर्ने माग गरे। भागरथीको शव जिल्ला अस्पतालमा राखिएको छ। बुधबार विद्यालय गएकी उनी घर नफर्किएपछि खोजी गरिएको थियो।-शिवराज भट्टले लेखेको यो खबर आजको अन्नपुर्ण पोस्ट दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!