पत्रपत्रिका खबर

काठमाडौं । कोभिड–१९ महामारीसँगै सुरु गरिएको लकडाउन र भर्चुअल अनलाइन कक्षाका कारण नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या अत्यधिक बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकलाई आधार मानेर बिदेसिएका नेपालीलाई कटाएर विश्लेषण गर्दा नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या कुल जनसंख्याको हाराहारीमै पुुगेको छ ।

Advertisement

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्ममा साढे २ करोडको हातमा इन्टरनेट पुुगेको छ । एक व्यक्तिसँग २ देखि ३ वटा सिम हुने भएकाले सबै नेपालीको पहुँचमा इन्टरनेट पहुँच पुगेको छैन ।

प्राधिकरणको गत कात्तिकसम्मको तथ्यांकलाई मात्र केलाउने हो भने पनि २ करोड २९ लाख २१ हजार १ सय ८० जनाको पहुँचमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुुगेको छ । जसमा इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी)हरूको मात्र ५० लाख ३० हजार ९ सय ४९ वटा लाइन वितरण गरिएको छ ।

यसबाट वाईफाई जेनेरेट गरी धेरैजनालाई बाँडफाँट गरिने हुँदा पहुँचको संख्या अझ बढी हुने बताइएको छ । व्यक्तिगत रूपमा नेपाल टेलिकमको मोबाइलबाट फोरजी लिनेकै संख्या २० लाख ४९ हजार ९ सय १६ छ ।

नेपाल टेलिकमको डाटा (इमेल, इन्टरनेट आदि) सेवाका प्रयोगकर्ता २०७७ मंसिरको अन्त्यसम्ममा कुल १ करोड ६४ लाख ९ हजार ५ सयभन्दा बढी पुगेको छ । सोमध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता १ करोड ५९ लाख ९९ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता १ लाख ८१ हजार ५ सय, एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता ६८ हजार र वाईम्याक्स सेवाका प्रयोगकर्ता १८ हजार ५ सय रहेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।

जीएसएम फोरजीतर्फ हालसम्म करिब २५ लाख ग्राहक पुगिसकेका छन् । एलटीई एडभान्स्ड फोरजी मोबाइल सेवा ७७ वटै जिल्लाका ६२० स्थानीय तहसम्म पुगिसकेको पनि अधिकारीले जानकारी दिए ।

टेलिकमले फाइबर टु द होम एफटीटीएच सेवा ४२ जिल्लामा पुगेको छ । एउटै फाइबरबाट भ्वाइस, इन्टरनेट तथा टिभी उपलब्ध हुने भएकाले हालसम्म १ लाख १५ हजार ग्राहक पुगिसकेको बताइएको छ । कोभिड–१९ पछि मात्र मोबाइल इन्टरनेट, ब्रोडब्यान्डलगायतका ग्राहक २५ लाखले बढेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

सूचना प्रविधिको माध्यमबाट काम गर्ने परिपाटी बढेको र ११ चैत २०७६ को बन्दाबन्दीपछि धेरैजसो कार्यालयको काम घरबाटै गर्न थालिएपछि नेपालमा इन्टरनेटको प्रयोगकर्ता बढेको बुुझाइ प्राधिकरणको छ ।

गत वैशाखमा इन्टरनेट प्रयोगकर्ता ३ लाख ६ हजार घटेका थिए । यो समयमा मोबाइलबाट इन्टरनेट चलाउने फोरजी प्रयोगकर्ता पनि ३ लाख घटेका थिए । लकडाउन लम्बिँदै गएको र घरमै बसेर काम गर्ने, कार्यालयदेखि विद्यालयको काम पनि अनलाइनबाटै गर्न थालिएपछि भने ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता हरेक महिना बढ्दै गएका थिए ।

हाल मोबाइलबाटै टेलिकम र एनसेल र स्मार्टसेलबाट फोरजी चलाउने प्रयोगकर्ता ६३ लाख ३२ हजार छन् । यसमध्ये एनसेलका प्रयोगकर्ता ४० लाख ८२ हजार छन् । बाँकी २ लाख प्रयोगकर्ता स्मार्ट टेलिकमका छन् । थ्रीजी प्रयोगकर्ता भने १ करोड ११ लाख ६ हजार ५ सय ५२ छन्, जसमा नेपाल टेलिकमका ८४ लाख ३२ हजार, एनसेलका २६ लाख ७४ हजार छन् । नेपाल टेलिकमको एडीएसएल प्रयोगकर्ता जडान संख्या नै ९ लाख छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत वैशाखमा ७२ प्रतिशत, जेठमा ७३ प्रतिशत, असारमा ७४ प्रतिशत, साउनमा ७६ प्रतिशत, असोजमा ७८ प्रतिशत हुँदै कातिकसम्ममा ८० प्रतिशत ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता पुुगेका छन् ।

महँगो मोबाइल इन्टरनेट
विश्वमा महँगो मोबाइल इन्टरनेट प्रयोगकर्ता नेपालमै रहेका छन् । अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू)को मोबाइल डेटा तथा भोइसको मूल्यसम्बन्धी पछिल्लो प्रतिवेदनअनुसार विश्वका १८३ देशमध्ये नेपाल १११औं स्थानमा पर्छ ।

दक्षिण एसियाली मुलुकमा सबैभन्दा महँगो मोबाइल डेटा भएको देशको सूचीमा दोस्रो स्थानमा नेपाल पर्छ । नेपाल अघि अफगानिस्तान छ, जहाँ मोबाइल डेटा प्रयोगकर्ताले प्रतिव्यक्ति आम्दानीको ९.२ प्रतिशतसम्म खर्च गर्नुपर्छ ।-पूर्णभक्त दुवालले लेखेको यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!