विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले आफ्नो कार्यक्षेत्र भित्रका एनालग मिटरलाई डिजिटल मिटरमा प्रतिस्थापन गर्ने कार्यको सुरुवात गरेको छ । प्राधिकरणले माघ २ गतेदेखि सेवाग्राहीहरुले प्रयोग गर्दै आएको पुराना एनालग मिटरलाई स्मार्ट थ्री फेज मिटरमा प्रतिस्थापन गर्ने कार्यको सुरुवात गरेको हो ।
प्राधिकरणको विराटनगर वितरण केन्द्रले विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका, बूढीगङ्गा गाउँपालिका र जहदा गाउँपालिमा अवस्थित सब–स्टेशनबाट नियमित विद्युत वितरण गर्दै आएको छ । प्राधिकरणले आफ्नो कार्यक्षेत्रभित्र रहेका करिब २ हजार ३ सय थ्री फेज एनालग मिटरहरुलाई डिजिटल बनाउने योजना बनाएको छ ।
बिहीबार बेलुकासम्म प्राधिकरणले यसक्षेत्रका करिब १ हजार २ सय एनालग मिटरहलाई डिजिटल मिटरमा रुपान्तरण गरिसकेको छ ।यसबाट ग्राहक र विद्युत प्राधिकरण दुवैलाई फाईदा पुग्ने विराटनगर वितरण केन्द्रका प्रशासकीय अधिकृत भरत केसीले बताए । एनालग मिटर अपग्रेड भईसकेपछि मिटर रिडिङ र लाईन काट्ने स्वचालित हुने उनले जानकारी दिए । अलि एडभान्स रुपमा गईसकेपछि ग्राहकहरुले आफ्नो मिटर आफै रिडिङ गरेर भुक्तानी गर्न सक्नेछन्, केसीले भने, ‘अलि विस्तृृत रुपमा गईसकेपछि यति बिल उठ्यो भनेर ग्राहकहरुको नम्बरमा मेसेज जान्छ र समयमै भुक्तानी नगरे लाईन स्वतः काटिन्छ ।’
विराटनगर वितरण केन्द्रको कार्यक्षेत्रभित्र हाल ७२ हजार ९३ घरधुरीले विद्युत उपभोग गरिरहेका छन् । जसमा थ्री फेज उपभोक्ताहरुको संख्या करिब २ हजार ३ सय रहेको छ । पुरानो एनालग मिटरलाई अत्याधुनिक डिजिटल मिटरमा रुपान्तरण गर्न सेवाग्राहीले कुनै पनि किसिमको अतिरिक्त शुल्क तिर्नु नपर्ने विराटनगर वितरण केन्द्रले जनाएको छ ।