संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर–४ ईकराहीकी देखनसरी माझी चौधरीले छोरी हराएको भन्दै खोजिदिन आग्रह गरेकी छन् । बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले छोरी खोजिदिन आग्रह गरेकी हुन् ।

Advertisement

विराटनगर–१९ घिनाघाटका सुनिल भनिने दिनेश मण्डलले छोरी बेपत्ता बनाएको उनको आरोप छ । सम्बन्धित बिषयमा प्रहरीमा उजुरी दिएको भएपनि प्रहरीले खोजतलाशमा बेवास्ता गरेको उनले बताइन् । ईकराहीकी २४ वर्षीया गुजेश्वरी माझी गत माघ १० गतेदेखि सम्पर्कविहिन बनेको परिवारले जनाएको छ ।

यस्तो थियो घटना
सन्तान नभएका दम्पत्तिलाई आफूले औषधी दिएपछि सन्तान हुने भन्दै देखनसरीको घर पुगेका मण्डलले उनीहरुको घरमा मसानले सुन गाडेको विश्वास दिलाएका थिए । घरमा मसानले सुन गाडेको छ भनेर विश्वास दिलाएर नगद ५० हजार रुपैयाँसमेत ठगेर लगेको देखनसरीले बताइन् ।

पूजा गरेको बहानामा मण्डलले आफ्नो सुनको औँठीसमेत निकालेपछि गुजेश्वरीको परिवारले उनीमाथि विश्वास गरेका थिए । मण्डलले मसानले गाडेको सुन निकाल्न कुमारी केटी मेरो जिम्मा लगाइदिनु भनेका थिए, देखनसरीले भनिन्, ‘मण्डलले ५ वटा नदीनाला पूजा गरेर ल्याएपछि घरमा मसानले लुकाएको सुन भेटिन्छ भनेको थियो, तर ठगेर नगदसँगै छोरी पनि लिएर गयो ।’

मण्डलले यसअघि पनि देखनसरीकी छिमेकी रामवती शाहलाई पत्थरी ठीक गरिदिने भन्दै ठगेको थिए । रामवतीले भनिन्, ‘अप्रेशन गर्न तयार थिएँ, उसले दबाई दिन्छु ठीक भईहाल्छ भनेपछि विश्वास गरेँ तर केही भएन ।’

मण्डलले रामवतीसँग भने २ हजार ४ सय रुपैयाँ ठगेका थिए । यता प्रहरीले भने मण्डलको खोजतलाश भईरहेको जनाएको छ । प्रहरीमा उजुरी परेपछि मण्डलको खोजी कार्य थालिएको मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!