विराटनगर । विराटनगरमा नेकपाको प्रचण्ड–माधव समूहका कार्यकर्ताले चिया पसलमा तोडफोड गरेका छन् । बन्दको उल्लंघन गरेर पसल खोलेको भन्दै विराटनगर महानगरपालिका–२ स्थित चिया पसलमा बिहिबार दिउँसो उनीहरुले तोडफोड गरेका हुन् ।
पूर्वमन्त्री शिवकुमार मण्डल नेतृत्वको समूहले उक्त चिया पसलमा तोडफोड गर्दा समोसा पकाउन तयारी अवस्थामा राखिएको तेल घोप्टिएर तातो तेलको छिटा लागेर पसल सञ्चालक ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया बबिता घाइते भएका छन् । बबिता ६ महिनाकी सुत्केरी हुन् । भीड उत्तेजित भएर तोडफोडमा उत्रन थालेपछि मण्डलले कार्यकर्तालाई संयमित बनाउने प्रयास गरेका थिए ।
नास्ता बनाउन तयारी अवस्थामा राखिएका सामान बन्दकर्ताले फ्यालेर नष्ट गरिदिएका छन् भने बनिसकेको खानेकुरा पनि भुँईमा फ्यालिएको छ । साथै पसलमा रहेको सोकेसको सिसा पनि फुटेका छन् ।