विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले गरेको आम हड्तालका कारण आज प्रदेश १ को राजधानी विराटनगरको जनजीवन पनि प्रभावित भएको छ । आमहड्तालका कारण विराटनगरमा बिहानैदेखि सरकारी तथा निजी र लामो तथा छोटो दुरीका सवारीसाधन चलेका छैनन् ।
औषधी, फलफुल, तरकारी, खाद्यान्न र खानेपानी बाहेकका पसलहरु पनि खुलेका छैनन् । एम्बुलेन्स, मोटरसाईकल, सिटी सफारी र सञ्चार क्षेत्र बाहेकका सवारीसाधनहरुको आवागमनमा चोकचोकमा भेला भएर बसेका बन्दकर्ताहरुले पूर्णतः रोक लगाएका छन् । आम नागरिक र श्रमिक तथा मजदुर वर्गको रोजीरोटीमासमेत असर पुगेको छ । आम नागरिकले स्थानीय तवरबाटै बन्द हड्तालको विरोधसमेत गरिरहेका छन् ।
सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै सो समूहले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर एक दिने आमहड्तालको आव्हान गरेको थियो । बुधबार नै गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सम्पुर्ण उद्यमी व्यवसायी तथा श्रमिक वर्गलाई निर्धक्क भएर आ-आफ्नो पेशा व्यवसाय सञ्चालन गर्न आग्रह गरेपनि सो को अवज्ञा गर्दै प्रचण्ड–नेपाल समूहले आजको हड्ताल जारी राखेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै त्यसको विरोधमा प्रचण्ड–माधव समूहले देशव्यापी आन्दोलन गरिरहेको छ ।